फिल्म 'तैं चुप मैं चुप' को निर्माण घोषणा गरिएको छ।
सन्तोष अधिकारी फिल्मसको ब्यानर एवं अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माण सहकार्यमा फिल्म बन्ने भएको हो।
फिल्मका कलाकार एवं निर्माता सन्तोष अधिकारीको जन्मदिनको अवसर पारेर यो फिल्म निर्माणको घोषणा गरिएको हो। फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन्। फिल्मको स्क्रिप्ट मनिष गौतमले लेखेका हुन्।
पोलिटिकल–कमेडी जनरामा रहेर फिल्म बन्न लागेको हो।
फिल्ममा समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी ढंगले प्रस्तुत गरिने निर्देशक लामिछानेले बताए। यसअघि पनि यही टिमले निर्माण गरेको फिल्म ‘चित्रा’ प्रदर्शन भइसकेको छ।
'तैं चुप मैं चुप' को अहिले कलाकार र गीत संगीत छनोटको काम भइरहेको छ। फिल्मलाई काठमाडौं र पोखरामा छायांकन गरिने जनाइएको छ। फिल्ममा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहनेछ।
फिल्मलाई आगामी वर्षभित्र प्रदर्शन गर्ने लक्ष्य राखेर तयारी अगाडि बढाइएको छ।