क्यानडामा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ। लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतिमा ब्राम्पटन सहरको केन व्हिलन्स स्क्वायरमा जुलाई ७ मा यो फेस्टिभल हुन लागेको हो।
शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानडाको मुख्य प्रायोजनमा हुने एक दिने फेस्टिभलमा नेपाली गीत–संगीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले बताए।
'क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहरमा कार्यक्रम गर्न लागेका छौं। त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएका गतिविधि गर्नुपर्छ भन्ने लगेर एक दिने फेस्टिभलको आयोजना गर्दैछौं,' उनले भने, 'यसले क्यानडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ। फेस्टिभलमा आइपुग्नेले नेपालमै पुगेको महसुस गर्नु हुनेछ भन्ने विश्वास छ।'
भण्डारीले यसअघि पनि क्यानडामा नेपाली मेला, महोत्सव, सांस्कृतिक र सांगीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेका छन्।
गायक प्रकाश सपूत, गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको म्युजिकल कन्सर्ट पछिल्लो समय उनले गरेका कार्यक्रम हुन्।
प्रवेश निःशुल्क रहेको फेस्टिभलमा नेवार, गुरूङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकी र नृत्य प्रस्तुत हुनुका साथै गायक हिमाल सागरसँगै त्यहाँ रहेका कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुती दिनेछन्।
गायक हिमाल सागर फेस्टिभलमा प्रस्तुतिका लागि क्यानडा पुगिसकेका छन्। उनले भने, 'नेपालीहरूको माँझमा आफ्नो प्रस्तुती दिन पाउँदा सधै उत्साहित हुन्छु। क्यानडामा रहनुभएका नेपालीसँग भेटघाट गर्दै गीत–संगीतमार्फत नेपालकै महसुस गराउने प्रयास गर्नेछु।'
लालीगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीले यस फेस्टिभललाई नर्थ अमेरिकाकै ठूलोमध्ये एक हुने बताए। उनले भने, 'फेस्टिभलमा क्यानडामा रहनुभएका थुप्रै नेपाली संघसंस्थाले हातेमालो गर्नुभएको छ। नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै नेपालीबीच सामीप्यता बढाउनु फेस्टिभलको उद्देश्य हो।'