कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले पहिलोपटक युरोपका विभिन्न देशमा प्रस्तुति दिने भएका छन्।
कलाकारिताको दौरानमा २ दर्जन देशमा पुगे पनि उनीहरू युरोपका देशमा पुगेका थिएनन्।
चौतारी इभेन्ट्सले आयोजना गरेको 'धुर्मुस–सुन्तली साँझ' कार्यक्रम अन्तर्गत उनीहरूले युरोपका आधा दर्जन बढी बढी देशमा नेपाली दर्शकलाई हँसाउने भएका हुन्। 'पहिलो कार्यक्रम जुलाई ८ मा फिनल्याण्डमा गर्दैछौं। त्यसका लागि आज राती त्यसतर्फ जाँदैछौं,' सितारामले भने।
दोस्रो कार्यक्रम जुलाई १३ मा माल्टामा रहने बताइएको छ। क्रोएसिया, स्पेन, बेल्जियम लगायतका देशमा पनि कार्यक्रमको आयोजना गरिएको जनाइएको छ।
धुर्मुस–सुन्तलीको साथमा गायक बिष्णु खत्री, तुल्सी सिवाकोटीको पनि प्रस्तुति रहनेछ।
धुर्मुस–सुन्तलीले पाँच वर्षपछि विदेशमा प्रस्तुति दिन लागेका हुन्। उनीहरु पछिल्लो पटक २०७६ सालमा दुबईको एक कार्यक्रममा पुगेका थिए।
'धेरैपछि विदेशी भूमिमा रहेर विभिन्न कर्म गर्नुहुने नेपाली दर्शकलाई प्रस्तुति देखाउन तयारी गर्न पाउँदा निकै खुसी लागेको छ,' धुर्मुसले भने। अन्य देशहरूमा पनि कार्यक्रमका लागि कुरा भइरहेको र अब निरन्तर कलाकारितामै सक्रिय रहने उनले बताए।
२०७२ सालको भूकम्पपछि सामाजिक काममा लागेका धुर्मुस र सुन्तली गत वर्षदेखि कलाकारितामा फर्किएका थिए।