फिल्म 'बलिदान' निर्माणको तयारीमा छ।
यो फिल्मलाई दसैंमा प्रदर्शनमा ल्याउने घोषणा सुरूमै गरिएको थियो।
तर अहिलेसम्म फिल्मको छायांकन सुरू नभएकाले पूर्व निर्धारित मितिमा रिलिज हुने सम्भावना कम देखिएको छ।
यसका निर्देशक सन्तोष सेन पनि फिल्मलाई दसैंमा प्रदर्शनमा ल्याउने सम्भावना न्यून रहेको बताउँछन्।
'अहिलेसम्म छायांकन सकिएको भए दसैंमा आउन सक्थ्यो। हामीलाई सेट डिजाइन लगायत अन्य तयारीमै समय लाग्यो,' सेनले भने, 'यो मेघा प्रोजेक्ट भएकाले अब छायांकन गरेर दसैंमा ल्याउन गाह्रो नै हुन्छ।'
यो फिल्मका लागि इटहरीमा सेट निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
फिल्मको आधा भाग इनडोर सेटमा छायांकन हुनेछ। फिल्मका लागि दक्षिण भारतबाट द्वन्द्ध निर्देशक, छायांकार तथा अन्य प्राविधिक झिकाइएको छ।
निर्देशक सेनका अनुसार साउन दोस्रो सातादेखि छायांकन सुरू गर्ने तयारी छ।
फिल्मको पोस्ट प्रोडक्सनमा पनि धेरै समय दिनुपर्ने भएकाले दसैंमा रिलिज गर्न गाह्रो हुने सेनले बताए।
'बलिदान' मा अभिनेता बिराज भट्टका छोरा समीर भट्ट अनुबन्धित भइसकेका छन्। त्यस्तै अभिनेता सौगात मल्ल, अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्माको पनि शीर्ष भूमिका रहनेछ।
दर्शन जीको कथा लेखन रहेको फिल्मको निर्माताको रूपमा पवन विष्ट तथा सह–निर्मातामा प्रेम पुरी छन्।
आशुसेन फिल्मस् तथा सन्तोष सेनको प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो।
'बलिदान' लाई उच्चस्तरीय नेपाली फिल्म बनाउन सक्दो मेहनत गर्ने सन्तोष सेनले बताएका छन्।