यसवर्ष असोज महिनामा नेपाली फिल्मबीच रोचक प्रतिस्पर्धा देखिने भएको छ। दसैंको लामो बिदालाई लक्षित गर्दै एकपछि अर्को फिल्मले असोजलाई प्रदर्शन मिति तोकिरहेका छन्।
अहिलेसम्मको अवस्था हेर्दा उक्त महिना रिलिज हुने फिल्मको संख्या ८ पुगिसकेको छ। एकैदिन तीन वटासम्म फिल्म रिलिजको तयारीमा छन्।
असोज ३ मा तीन फिल्म
संविधान दिवसको अवसर पारेर 'ह्रस्व दीर्घ', 'खुस्मा' र 'आउट ल' गरी तीनवटा फिल्म रिलिज तयारीमा छन्।
'ह्रस्वदीर्घ' नीता ढुंगाना र हरिहर अधिकारीको जोडीले बनाएको फिल्म हो। यसमा थुप्रै नेपाली कलाकारसँगै भारतीय कलाकारको समेत अभिनय छ। फिल्मका निर्देशक चन्द्र पन्त हुन्। निर्माण टिमले केही दिनअघि सार्वजनिक गरेको गीतले यतिबेला चर्चा पाइरहेको छ।
त्यस्तै अर्को फिल्म 'खुस्मा' मा धिरज मगर र उपासना सिंह ठकुरी मुख्य भूमिकामा छन्। अशोक थापा मगरले फिल्मलाई निर्देशन गरेका हुन्। फिल्मको 'खुसीका फूल बटुलेर' गीतलाई दर्शकहरूले रूचाएका छन्।
अर्को फिल्म 'आउट लः दफा २१९' मा सुशील श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन्। यसको केही दिनअघि सार्वजनिक एक्सनप्रधान टिजरलाई दर्शकहरूले रूचाएका छन्। यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन्।
असोज १७ मा दुई फिल्म
घटस्थापनामा स्वस्तिमा खड्का र निश्चल बस्नेत जोडीको फिल्म 'बेहुली फ्रम मेघौली' र अर्जुन कुमारको 'सानो संसार' प्रदर्शनमा आउने तयारीमा छन्।
साजन काफ्ले र आकाश बरालको लेखन एवं निर्देशन रहेको 'बेहुली फ्रम मेघौली' मा स्वस्तिमा र निश्चलले नै मुख्य भूमिकामा अभिनय गरेका छन्। यो फिल्मको दुईवटा गीत सार्वजनिक भइसकेका छन्।
अर्को फिल्म 'सानो संसार' मा अधिकांश कलाकार नयाँ छन्। सितादेवी तिमिल्सिना, राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल, शिशिर सिवाकोटी लगायतको अभिनय रहेको फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्।
फूलपातिमा त्रिपक्षीय भिड्न्त
असोज २४ गते रिलिज हुने फिल्मको संख्या ३ पुगेको छ। दीपकराज गिरी र दीपाश्री निरौलाको 'छक्का पञ्जा ५', विराज भट्टको '१२ गाउँ' र जितु नेपालको 'ज्वाइँ साब' सो मितिमा आउने भएका हुन्।
सुरूमा 'छक्का पञ्जा ५' ले उक्त मिति घोषणा गरेको थियो। त्यसपछि मंगलबार मात्रै 'ज्वाइँ साब', '१२ गाउँ' पनि सोही मितिमा आउने घोषणा गरिएको हो।
दीपाश्री निरौला निर्देशित 'छक्का पञ्जा ५' मा दीपकराज गिरी, वर्षा शिवाकोटी र केदारप्रसाद घिमिरे मुख्य भूमिकामा छन्। फिल्मको सोमबार मात्रै पहिलो गीत सार्वजनिक गरिएको छ।
त्यस्तै बसन्त निरौला निर्देशित 'ज्वाइँ साब' मा जितु र नीति शाहले जोडी बाँधेका छन्। यो फिल्मको मंगलबार फरस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको थियो।
अर्को फिल्म '१२ गाउँ' लाई विराज भट्ट आफैले निर्माण एवं निर्देशन गरेका हुन्। यसमा उनीसँगै उनका छोरा समीर भट्ट, न्यान्सी खड्का, सनिशा भट्टराई लगायतका कलाकारहरू छन्। केही दिनमा टिजर सार्वजनिक गर्ने तयारी छ। अरू केही फिल्म पनि असोजमा प्रदर्शनमा आउने तयारीमा रहेको बुझिएको छ।
एकैदिनका लागि धेरै फिल्मको रिलिज मिति तोकिएपछि कतिपयले फिल्म नजुधाउन समेत अनुरोध गरेका छन्।