अघिल्लो सातादेखि फ्लोरमा गएको फिल्म 'के घर के डेराः घर नम्बर २' को प्रदर्शन मिति तय गरिएको छ।
यो फिल्म माघको ११ गतेदेखि प्रदर्शनमा आउने भएको वितरक कम्पनी रिच इन्टरटेन्मेन्टका प्रमुख करण श्रेष्ठले बताए।
'निर्माता र प्रदर्शकसँग सल्लाह गरेर प्रदर्शन मिति पक्का गरेका हौं,' श्रेष्ठले भने।
दीपेन्द्र के. खनालको निर्देशनमा बनिरहेको फिल्मको छायांकन काठमाडौं आसपासमा भइरहेको छ।
फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रूविना घिमिरे लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
सामाजिक कथावस्तुमा निर्माण हुने फिल्मको कथा साहित्यकार बुद्दिसागरले लेखेका हुन्।
ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रियशनको ब्यानरमा निर्माण भइरहेको यो फिल्ममा शरद श्रेष्ठ, किरण महर्जन र राजीव श्रेष्ठको लगानी रहनेछ। फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन्। सह–निर्मातामा ओम प्रकाश अग्रवाल र महेश किजु छन्।
अझै एक महिना छायांकन चल्ने फिल्मलाई कृष्णबहादुर थापाले खिचेका छन्।