यसपालि असोजमा नेपाली फिल्मबीच रोचक प्रतिस्पर्धा देखिँदैछ।
उक्त महिना एकैदिन तीन वटासम्म फिल्मको रिलिज घोषणा गरिएको छ। त्यसमा पनि दसैंको फूलपाति (असोज २४) गतेका फिल्मलाई बढी चासोका साथ हेरिएको छ।
यो मितिका लागि दीपाश्री निरौला र दीपकराज गिरीको 'छक्का पञ्जा ५', विराज भट्टको '१२ गाउँ' र जितु नेपाल अभिनीत 'ज्वाइँ साब' ले रिलिज घोषणा गरेका छन्।
एकैदिनका लागि धेरै सिनेमाको प्रदर्शन घोषणा भएपछि फिल्मकर्मीले फिल्म नजुधाउन अनुरोध गरेका छन्।
चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले एकैदिन रिलिज नगर्न आग्रह गरेका छन्।
फिल्मका पोस्टर फेसबुकमा सेयर गर्दै उनले लेखेका छन्– 'पोस्टर हेरेर गदगद छु। नेपालमा निकै राम्रा फिल्म बन्न थालेका छन्। तर बिन्ती छ रिलिज एकै दिन नगर्नूस् है। यो कसैलाई फाइदा छैन।'
फिल्म निर्माता तथा प्रदर्शक प्रदीपकुमार उदयले वितरक र प्रदर्शकसँगको छलफलपश्चात मात्रै प्रदर्शन मिति तोक्न अनुरोध गरेका छन्।
उनले एकैदिन धेरै फिल्म आउँदा हलले राम्रो शो दिन नसक्ने त्यसपश्चात विवाद उत्पन्न हुनसक्ने भन्दै सचेत गराएका छन्।
'जसरी चलचित्र कुन चलचित्र घरमा चल्न दिने वा नदिने अधिकार चलचित्र निर्माण वा वितरक पक्षको हुन्छ, त्यसैगरी कुन चलचित्र चलाउने प्रदर्शकको अधिकार हुन्छ। तसर्थ कुन मितिमा प्रदर्शन गर्ने हो पहिला वितरक र प्रदर्शकबीच सम्झौता हुनु जरूरी हुन्छ। यसो गरे विवाद हुने सम्भावना कम हुन्छ। विवाद नहुने अवस्थामा चलचित्र क्षेत्र पनि सुध्रिंदै जान्छ,' उदयले फेसबुकमा लेखेका छन्।
फूलपातिमा हुने देखिएको फिल्मबीचको भिड्न्तलाई लिएर अभिनेत्री रेखा थापाले समेत अभिव्यक्ति दिएकी छन्।
कुनै समय दसैंमा फिल्म ल्याउने गरेकी उनले यो कोही निर्माताको पेवा डेट नभएको बताइन्। यद्यपि, जानाजान फिल्म जुधाउनु चाहिँ गलत भएको उनको तर्क छ।
सञ्चारकर्मीसँगको कुराकानीमा उनले भनिन्, 'जानाजान जुधाउनु चाहिँ राम्रो होइन्। तर संयोगले त्यस्तो हुन गएको खण्डमा अलग कुरा भयो। दसैं कसैको पेवा डेट होइन्। मलाई पहिले मेरो पेवा जस्तो लाग्यो। त्यतिबेला उहाँहरूको फिल्म सायद आउँदैनथ्यो होला। भुइँचालो गइसकेपछि मैले फिल्म बनाइन्। कसैले रेखा थापाको डेट भनेर पर्खिने कुरा पनि आउँदैन्। फेरि अर्को वर्ष रेखा थापाको फिल्म आउन सक्छ। त्यो कसैको पेवा डेट होइन्, जसले ल्याएर लगाउँदा पनि हुन्छ। तर फिल्म जुधाउने मनस्थिति भयो भने दुवै पक्षलाई घाटा हुन्छ। फिल्म उद्योगसँगै दर्शकलाई पनि घाटा हुन्छ।'
फूलपातिअघि असोजको ३ गतेका लागि पनि तीनवटा फिल्मले प्रदर्शन तोकेका छन्।