सामाजिक विषयवस्तुमा तयार नेपाली फिल्म 'आँखा' को प्रदर्शन मिति तय भएको छ।
निर्माण कम्पनी लामा सिनेमाजले फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई रिलिज मिति तय गरेको हो। उक्त मितिमा अन्य कुनै पनि नेपाली फिल्मले मिति तोकेका छैनन्।
फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख दुई कलाकार फिचर्ड छन्। सुकुम्बासी बस्ती र सूर्यमखी फूललाई पृष्ठभूमी बनाई तयार गरिएको पोस्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताले सर–सामानसहितका झोला लिएर निस्केको देखाउँदा उनिहरूले बस्ती छोडेर बाहिरिँदै गरेको आँकलन गर्न सकिन्छ।
निर्देशक जौन योन्जनले पोस्टरमार्फत फिल्मले उठाएको कथावस्तु खुलाउन खोजेको भान पोस्टरले दिन्छ।
यो फिल्ममा स्मिता र आरकेसँगै निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा र अभयराज बराल मुख्य अभिनयमा छन्। बाल कलाकारको भूमिकामा प्रसन राई छन्।
नेपाली रंगमञ्चमा अब्बल उपस्थिति जनाएका कलाकारहरूको टिम रहेको फिल्मलाई मनोरञ्जनसँगै कन्टेन्ट ओरिन्टेड भनिएको छ। निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन नै हुन् भने नारायणप्रसाद बराल कार्यकारी निर्माता हुन्। सह–निर्मातामा रेनुका कार्की ढोली छिन्।
ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्मलाई आरआर फिल्मस्ले प्रदर्शन तथा वितरण अधिकार लिएको छ।
आलोक शुक्लाको छायांकन रहेको फिल्ममा कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन छ। निर्देशक योन्जनले ‘आँखा’ ले कुनै व्यक्तिदेखि समाजसम्मकै वास्तविकता देख्ने भन्दै नेपाली समाजको एक पाटोको यथार्थता यो फिल्मले बोकेको बताए।
योन्जनले यो फिल्मपछि 'रोल नम्बर १' नामको अर्को फिल्म बनाउने तयारी गरेका छन्।