रामबाबु गुरूङको निर्देशन रहेको फिल्म 'डिग्री माइला' पुनः सम्पादनसहित ओटिटी प्लेटफर्म 'सिनेमाघर एप' मा रिलिज गरिएको छ।
दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ लगायतको अभिनय रहेको फिल्म विश्वभरका दर्शकहरूलाई लक्षित गरी सिनेमाघर एपमा उपलब्ध गराइएको हो। यो एप नेपाली फिल्महरूको लागि अग्रणी डिजिटल प्लेटफर्म मानिन्छ।
नयाँ सम्पादनमार्फत 'डिग्री माइला' को कथ्य शैलीलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको जनाइएको छ। जसले हलमा हेरिसकेका दर्शकहरूलाई समेत फरक अनुभव दिने अपेक्षा निर्माणपक्षको छ।
निर्देशक रामबाबु गुरूङले हल रिलिज हुँदा दर्शकहरूबाट प्राप्त फिल्म केही सुस्त गतिमा रहेको भन्ने प्रतिक्रियालाई आधार मानेर पुनः सम्पादन गरिएको बताए। उनले थिएटरमा हेर्न छुटेका दर्शकको लागि डिजिटल रिलिज गरेको बताए।
'विशेष गरी विदेशमा बस्नेहरूले राम्रोसँग हेर्न नपाएको कारण डिजिटल रिलिज गरेका हौँ। नेपालमा पनि हलसम्म पुग्न छुटेका दर्शकहरूको लागि डिजिटल रिलिज प्रभावकारी हुनेछ भन्ने देखेर सिनेमाघरमा रिलिज गरेका छौँ,' गुरूङले भने।
यसअघि रामबाबु निर्देशित फिल्म ‘कबड्डी ४’ लाई सिनेमाघरमा दर्शकको साथ पाएको थियो। सो चलचित्रलाई दर्शकले दिएको प्रेमजस्तै यस फिल्ममा पनि अपेक्षा गरेको बताए। 'डिग्री माइला' गत नयाँ वर्षमा प्रदर्शनमा आएको थियो।
सिनेमाघरका सिईओ सागर खरेलका अनुसार एपको प्रयोग विश्वभरबाट सजिलै फिल्म हेर्न सकिने बताए। अब सिनेमाघरलाई वेब ब्राउजरमार्फत पनि सजिलै प्रयोग गर्न सकिने गरी विस्तार गर्ने तयारी भइरहेको उनले बताए।