निर्माणको तयारीमा रहेको फिल्म 'कंगारू' को मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्।
निर्माणपक्षले सोमबार उनीसँग कागजी सम्झौता गरेको हो। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा यसअघि केदार घिमिरे 'माग्ने बुढा', जितु नेपाल र अर्पण थापा अनुबन्धित भइसकेका छन्।
फिल्ममा स्वस्तिमाको प्रवेशसँगै कलाकारहरूको लाइनअप बलियो बन्दै गएको छ। स्वस्तिमाले यो फिल्ममा काम गर्न आफू निकै उत्साहित रहेको बताएकी छन्।
राजिव गुरूङ 'दीपक मनाङ्गे' को प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो। यसअघि फिल्म 'लाखे' निर्देशन गरेका बस्नेतले यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए।
यो फिल्म फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग एसजिटी प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुन लागेको हो। यसमा निर्माताको रूपमा प्रेम थापा, धन बहादुर गुरूङ ‘डिबी’ र मनोज भण्डारी ‘म्यक्स’ छन्। सह–निर्मातामा अन्जन दुरा र लक्ष्मी राई छन् भने कार्यकारी निर्माता टीका भण्डारी हुन्।
फिल्ममा सीमा गुरूङको कथा रहनेछ।
फिल्मलाई अस्ट्रेलियामा छायांकन गर्ने तयारी छ। सुशन प्रजापतिले फिल्मलाई खिच्नेछन्।