फिल्म ‘नांगो गाउँ’ र ‘दान्भी’ ओटिटीमा रिलिज भएका छन्।
नेपाली ओटिटी प्लेटफर्म 'कान्तिपुर सिनेमाज' मा यी दुई फिल्मको स्ट्रिमिङ सुरू भएको छ। रक्षा बन्धनको अवसरमा सोमबार कान्तिपुर सिनेमाजले यी फिल्महरूको ओटिटी स्ट्रिमिङ सुरू गरेको हो ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको ‘नांगो गाउँ’ मा दयाहाङ राई, मिरूना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म लगायतको शीर्ष अभिनय छ। गत वर्ष भदौमा हलमा प्रदर्शनमा आएको फिल्मले राम्रो व्यापार गरेको थियो।
त्यस्तै, रूपेश तामाङको निर्देशनमा पुजा शर्मा, कुन्साङ बोम्जन लगायतको अनिभय रहेको फिल्म ‘दान्भी’ गत असारमा हलमा रिलिज भएको थियो। यो फिल्म भने व्यवसायिक रूपमा सफल हुन सकेन्।
हाल कान्तिपुर सिनेमाजमा फिचर फिल्म, अवार्ड विनिङ सर्ट फिल्म, वेब सिरिज, प्ले सिरिज र मिनी सिरिज गरी ३० वटाभन्दा बढी प्रिमियम कन्टेन्ट रिलिज भइरहेका छन्। पछिल्लो समय फरक विधाका फिल्म, भिजुअल कन्टेन्ट र स्वतन्त्र फिल्म मेकरहरूका लागि कान्तिपुर सिनेमाज एक उपयुक्त विकल्प बन्दै गईरहेको छ।
यस प्लेटफर्मलाई विश्वभर कान्तिपुर सिनेमाजको वेबसाइट लगइन गरेर वा मोबाइल एप डाउनलोड गरेर हेर्न सकिन्छ। कान्तिपुर फिल्म एकेडेमीले यो प्लेटफर्मलाई सञ्चालनमा ल्याएको हो।