नेपाली टेलिश्रृंखला राधाकृष्ण शुक्रबारदेखि प्रशारणमा आउने भएको छ।
टेलिश्रृंखलाको बारेमा जानकारी दिँदै कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) ले हरेक हप्ताको शुक्रबार साँझ ७ बजे बल्छी धुर्वे युटुवमा टेलिश्रृंखला प्रशारण हुने बताए।
कलाकार श्रेष्ठले टेलिश्रृंखलामा १० वर्षे माओवादी 'जनयुद्ध' ताकाका घटनाहरूलाई देखाइने बताएका छन्।
‘राधाकृष्णले हामीले १० वर्षसम्म भोगेको जनयुद्ध, हामी यसरी बोल्न पाएको जनयुद्धकै कारणले हो जस्तो मलाई लाग्छ। समाजमा ठूलो परिवर्तन गरेको छ। त्यो अवस्थामा के भएको थियो, कस्ता घटना भएका थिए। समाजलाई कहाँसम्म लगेको थियो भन्ने बारेमा हुन्छ। एउटा कुरा के नभुलौँ भने बल्छी धुर्वे माओवादी भएछ भन्ने अफवाह नफैलाऔँ,’बिहीबार आयोजित कार्यक्रममा उनले भने।
उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत पनि उपस्थित थिए।