फिल्म 'झरीपछिको इन्द्रेणी' को गीत 'फसायो लमीले' बालेन शाहको युट्युबबाट हटाइएको छ।
सुरूमा काठमाडौं महानगरपालिकाका मेयर बालेनको अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको थियो। उनको च्यानलमा गीत सार्वजनिक भएको झन्डै एक महिनापछि शनिबार त्यहाँबाट हटाएर ओएसआर डिजिटलको युट्युब च्यानलमा अपलोड गरिएको हो।
बालेनको च्यानलमा गीत आउँदा राम्रो चल्ने अपेक्षा थियो। तर गीतको तारिफ भए पनि अपेक्षित चल्न सकेको थिएन।
'फसायो लमीले' मा बसन्त थापा र समीक्षा अधिकारीको स्वर छ। अर्जुन घिमिरे (पाँडे)को निर्देशनको बनेको 'झरीपछिको इन्द्रेणी' पुस ४ गतेदेखि प्रदर्शनमा आउँदैछ।
फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियाना आचार्य, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, विमोचन दवाडी, जेसिका पोखरेललगायत कलाकारहरूको अभिनय छ।
निर्माता अनिशा सेन्दाङ लिम्बु हुन् भने अनु थापा, पंकज खड्का, राम कार्की र सुवास शर्मा सह-निर्माता छन्।
केही दिनअघि सार्वजनिक फिल्मको ट्रेलर यतिबेला दर्शकहरूले रूचाइरहेका छन्।