शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'सानो संसार' लाई प्रिमियरमा प्रशंसा मिलेको छ।
बुधबार बेलुका काठमाडौंमा गरिएको प्रिमियरमा फिल्म हेर्नेहरूले यसको कथावस्तु र कलाकारहरूको अभिनयको तारिफ गरेका हुन्।
यो फिल्मले मध्यवर्गीय परिवारको कथा उठान गरेको छ। नयाँ कलाकार लिएर, सानो खर्चमा पनि राम्रो फिल्म बनाउने सकिन्छ भन्ने उदाहरण 'सानो संसार' भएको फिल्म हेर्नेहरूले प्रतिक्रिया दिएका थिए।
अर्जुन कुमार निर्मित यो फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्।
फिल्ममा हास्य कलाकार केदार घिमिरे 'माग्नेबुढा' की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ। साथमा राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ।
राजधानी मिडिया र प्रिन्सेस मुभिजको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा माधव वाग्ले छन्।
बिहीबारदेखि मल्टिप्लेक्स हलहरूले फिल्मको बुकिङ पनि खुलाएका छन्।