आज दुई नेपाली फिल्म रिलिज भएका छन्।
सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्म 'सानो संसार' र जौन योन्जन निर्देशित 'आँखा' शुक्रबारदेखि प्रदर्शनमा आएका हुन्।
'सानो संसार' ले मध्यमवर्गीय परिवारको कथा उठान गरेको छ। यसमा हास्य कलाकार केदार घिमिरे 'माग्नेबुढा' की श्रीमती सीतादेवी तिमल्सेनाको शीर्ष भूमिका छ। साथमा राजपंगेनी शर्मा, अनु दाहाल, अञ्जसा रिजाल, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ।
फिल्मका निर्माता अर्जुन कुमार हुन्। राजधानी मिडिया र प्रिन्सेस मुभिजको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्मातामा माधव वाग्ले छन्।
त्यस्तै, 'आँखा' सुकुम्बासी बस्तीको कथामा निर्माण भएको फिल्म हो। यसमा स्मिता लामिछाने र आरके मेहता शीर्ष भूमिकामा छन्। साथमा, विजय बराल, नीशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, अभयराज बराल र बाल कलाकार प्रसन राईको पनि अभिनय छ।
ढाका टोपी फिल्मस्, कार्यक्रम नेपाल, साइलेन्ट एक्ट र ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा तयार भएको फिल्ममा जौन योञ्जन निर्माता छन्।
कार्यकारी निर्मातामा नारायणप्रसाद बराल, सह निर्मातामा रेनुका कार्की ढोली तथा लाइन प्रोड्युसरमा राम बस्नेत छन्।
हलमा 'शाम्बाला' र 'खुस्मा' पनि प्रदर्शनरत छन्।