सन्तोष सेनको फिल्म 'बलिदान' यतिबेला छायांकनको क्रममा छ। पूर्वी नेपालको इटहरी लगायतका स्थानहरूमा फिल्मको छायांकन भइरहेको छ।
निर्देशक सेनका अनुसार अहिले एक्सन दृश्यहरूको छायांकन सुरू भएको छ।
एक्सन दृश्यहरू दक्षिण भारतका द्वन्द्व निर्देशक स्टनर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ। सामले राणा दगुबत्तीको चर्चित फिल्म 'हाथी मेरे साथी' र हालै रिलिज भएको चियान विक्रमको 'थंगलम' जस्ता फिल्महरूमा एक्सन निर्देशन गरिसकेका छन्।
अत्याधुनिक प्रविधिको प्रयोग गर्दै एक्सन दृश्यहरू छायांकन भइरहेको निर्देशक सेनले बताए। समीर भट्ट लगायतका कलाकारहरूको दृश्यहरू अहिले छायांकन भइरहेको छ। यो फिल्मको मुख्य भूमिकामा समीर भट्टसहित सौगात मल्ल, अर्पण थापा, दिव्य देव र अभिनेत्री ऋचा शर्माको पनि अभिनय रहनेछ।
फिल्मलाई प्राविधिक पक्षमा पनि उच्चस्तरीय बनाउन मुम्बईबाट लाइट, साउन्ड, क्यामेरा लगायतका प्राविधिक सामग्रीहरू आयात गरिएको छ।
सेनले भने, 'कथामा नेपाली फिल्मले धेरै प्रगति गरिसकेको छ। अब प्राविधिक रूपमा पनि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन सक्ने फिल्म बनाउन हामी विशेष ध्यान दिएका छौँ।'
आसुसेन फिल्म्स प्रा.ली. र सन्तोष सेनको प्रस्तुति रहने यो फिल्ममा पवन ब्राडफोर्ड बिस्ट निर्माताका रूपमा छन् भने प्रेम पुरी सह–निर्माताको भूमिकामा छन्।