'झोला' फेम्ड निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको नयाँ फिल्म 'झिल्कोः द स्पार्क' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।
निर्देशक भट्टराईले शुक्रबार फिल्मको पहिलो पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत घोषणा गरेका छन्।
सामाजिक कथामा बनेको यो फिल्म आगामी पुस ५ गतेदेखि देशभर प्रदर्शन हुने भट्टराईले बताए।
सार्वजनिक पोस्टरमा सुनील पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन्। मोबाइल दुर्व्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार र समाजलाई पार्ने प्रभावबारे फिल्म बनेको संकेत पोस्टरले गरेको छ। पोस्टर आइडियल डिजाइनर्सले तयार पारेको हो।
'झिल्को' को फर्स्टलुक सार्वजनिक गर्दै निर्देशक भट्टराईले यो आजको समाजको कथा भएको बताए। उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'डिजिटल युगमा प्रवेश गरिरहेका र बाँचिरहेका हामीहरूले के विवेकपूर्ण व्यवहार गरेका छौँ? ग्याजेटहरूलाई प्रयोग गरिरहँदा हाम्रो अवस्था के छ? आज बालबालिकादेखि युवापुस्ता र ज्येष्ठ नागरिकसम्म सबैलाई गम्भीर रूपमा गाँजेको र ठूलो समस्याका रूपमा विकास हुँदै गएको दुव्र्यसनी डिजिटल दुव्र्यसनी हो। यही संवेदनशील विषय झिल्कोको कथा हो।'
सती प्रथाको कथामा 'झोला' फिल्म निर्माण गरेका भट्टराईले त्यसपछि सन् २०१९ मा दाइजो विरोधी फिल्म 'भोर' बनाएका थिए।
'झिल्को' को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरूणदेव जोशी र देवव्रतले तयार पारेका हुन्। निर्माता सुशीला आचार्य र रामगोपाल थापा हुन् भने कार्यकारी निर्माता उमेश पौडेल रहेका छन्।
फिल्ममा दीपक बज्राचार्यको छायांकन तथा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत छ। निमेश श्रेष्ठले फिल्मलाई सम्पादन गरेका हुन्। मिडिया फर कल्चर प्रा.लि.को प्रस्तुतिमा फिल्म बनेको हो।