केही दिनमै छायांकनमा जान लागेको फिल्म 'जेरी अन टप' मा हास्य कलाकार केदार घिमिरे 'माग्ने बुढा' अनुबन्धित भएका छन्।
शुक्रबार निर्माता र उनीबीच लिखित सम्झौता भएको छ। फिल्मको शीर्षमध्येको भूमिकामा केदारलाई अनुबन्ध गरिएको निर्माता सरोज न्यौपानेले बताए। योसँगै फिल्ममा कलाकारको ‘लाइनअप’ पूरा भएको पनि न्यौपानेले जानकारी दिए।
सुयोग गुरूङको निर्देशनमा बन्न लागेको यो फिल्मको मुख्य भूमिकामा अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ र सुरक्षा पन्त यसअघि नै अनुबन्धित भइसकेका छन्।
केदार र अनमोलले फिल्ममा पहिलोपटक सहकार्य गर्न लागेका हुन्। प्रेमकथामा बन्न लागेको यो फिल्मको कथा हेमराज बिसीले लेखेका हुन्। फिल्मको स्क्रिप्टमा चर्चित कथावाचक साइग्रेस पोखरेल पनि जोडिएका छन्।
फिल्मको निर्माणमा सरोज न्यौपानेलाई दीपक भण्डारी, रविन शेरचन र रामकृष्ण श्रेष्ठले सघाएका छन्। यसको एसोसिएट निर्माता ओम अग्रवाल र विवेक थापा हुन्।
यो फिल्मको प्रदर्शन मिति समेत घोषणा भइसकेको छ। भ्यालेन्टाइन्स डेको अवसर पारेर फागुन २ गते फिल्म रिलिज हुने तय छ।