गुरूङ समुदायको घाँटुको कथामाथि निर्माण हुन लागेको फिल्म 'जूनकिरी' को शुभसाइत गरिएको छ।
निर्देशक दीप गुरूङ र कलाकारहरूले क्यामेरामा पूजा गरेर फिल्मको मूहुर्त गरेका हुन्। दीप फिल्म्स् प्रोडक्सनले निर्माण गर्न लागेको फिल्म असोज १५ गतेबाट छायांकनमा जानेछ।
फिल्ममा कलाकार सुरज तमु र लक्ष्मी गुरूङ मुख्य भूमिकामा रहनेछन्। सुरजले 'ऊनको स्वीटर, गोरखा वारियर, एन्जिला, सारंगा, नैना' लगायतका फिल्ममा अभिनय गरिसकेका छन्। एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले 'स्कुल, चालिसे भीर' लगायतका नाटक निर्देशन तथा २ दर्जन नाटकमा अभिनय गरिसकेका छन्।
लक्ष्मीको यो दोस्रो फिल्म हो। यसअघि 'नैना' फिल्ममा उनले मुख्य भूमिकामा अभिनय गरेकी थिइन् भने थुप्रै म्युजिक भिडिओमा काम गरिसकेकी छन्।
फिल्ममा सुरज र लक्ष्मीसहित माओत्से गुरुङ, अनिल सुब्बा, कविता आलेको पनि महत्वपूर्ण भूमिका रहनेछ।
त्यसैगरी प्रतीना राई, प्रविन मगर, सुस्मिता गुरुङ, माया गुरूङ, समर्पण श्री र सौजन सेन्ह्याङ लगायतको पनि अभिनय रहनेछ।
निर्देशक दीप गुरूङको यो दोस्रो फिल्म हो। उनले यसअघि फिल्म 'नैना' निर्देशन गरेका थिए। उनले दर्जनौं म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्।
फिल्म काठमाडौंमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथामा केन्द्रित रहनेछ। गुरुङहरूमाथि पहिल्यैदेखि नाच्दै आएको घाँटुको फोटो खिच्न जाँदा घट्ने घटना र भेटिने सम्बन्धहरूले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ।
'एउटा अन्धकार रातमा जूनकिरीले उज्यालोसंग संघर्ष गरेझैं अहिलेको समयमा घाटुले पनि यस्तै संघर्ष गरिरहेको छ। त्यसकारण पनि हामीलाई यो कथा भन्न आवश्यक लाग्यो,' कलाकार तमु भन्छन्। गुरुङ भाषामा घाँटु भनेको घाउ सिलाउनु हो।
फिल्ममा भरत राई र सुरज तमुको कथा तथा केर कोइँच लिनुचको पटकथा छ। फिल्ममा कलाकार अनिल सुब्बा एक्टिङ निर्देशकका रुपमा छन्।
फिल्मलाई योगेश दाहालले खिच्नेछन्।