राष्ट्रिय नाचघर जमलमा हुन लागेको 'रोस्टिङ ब्याटल' को टिकटबाट प्राप्त रकमको ४० प्रतिशत बाढी पीडितको सहयोगमा उपलब्ध गराइने भएको छ।
आयोजक 'कमेडी च्याम्पियन' का निर्देशक विशाल भण्डारीले विपद् पीडितको उद्धारमा लागेका संस्थाहरूलाई सहयोग स्वरूप रकम उपलब्ध गराइने जानकारी गराएका हुन्।
देश र जनता विपद्मा परेको बेला कलाकारले कलाकारिताकै माध्यमबाट सहयोग गर्न सकिने निक्यौलमा पुग्दै यस्तो निर्णय गरिएको उनले बताएका छन्।
प्रदर्शनको तयारीमा रहेको फिल्म 'छक्का पञ्जा ५' को प्रचारमा सहयोग पुर्याउने उद्धेश्यले यही असोज २० गते यो कार्यक्रम हुन लागेको हो।
यसमा 'छक्का पञ्जा ५' र 'कमेडी च्याम्पियन' का कलाकारहरू एउटै मञ्चमा उपस्थित भएर एकअर्काको टिमलाई पालैपालो रोस्ट गर्नेछन्।
फिल्मका कलाकारहरू दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र वर्षा शिवाकोटी लगायत हुनेछन्। त्यस्तै, कमेडी च्याम्पियनका भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, मेक्सम गौडेल, कैलाश कार्की, सन्तोष थापा, सजन श्रेष्ठ, प्रभात लामा, सुनील खड्का र ऋषभ काफ्ले रहनेछन्।
कार्यक्रममा दर्शकका लागि पाँच सयदेखि १५०० रूपैयाँसम्मको टिकट दर राखिएको छ। बेलुका ५ बजे सुरू हुने कार्यक्रम साढे ३ घण्टा चल्ने जनाइएको छ।