अभिनेत्री रिश्मा गुरूङ नयाँ फिल्म 'रिमै' को छायांकनका लागि अमेरिकाबाट नेपाल आएकी छन्।
'कबड्डी' को पहिलो र दोस्रो श्रृंखलामा 'मैयाँ' पात्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएकी उनी विवाहपछि फिल्मबाट टाढा थिइन्।
श्रीमानसँग अमेरिकामा बस्दै आएकी रिश्मा 'रिमै' को छायांकनका लागि आइतबार दिउँसो काठमाडौं आएकी हुन्।
उनलाई स्वागत गर्न फिल्मका निर्देशक खिलबहादुर गुरूङ, अभिनेता वीरबल घलेसहितको टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
काठमाडौं आएसँगै सञ्चारकर्मीसँग कुरा गर्दै रिश्माले रिमैको कथावस्तुले मन छोएकाले काम गर्न तयार भएर नेपाल आएको बताइन्।
'विशेषगरी रिमै गुरूङ संस्कार र संस्कृतिमा आधारित रहेर निर्माण हुन लागेकाले पनि काम गर्न तयार भएकी हुँ। अनि फिल्मको मुख्य भूमिकामा दयाहाङ राई र सौगात मल्ल भएकाले पनि काम गर्न उत्साहित छु,' उनले भनिन्।
'कबड्डी' मा रिश्माको मैयाँ पात्र र दयाहाङको काजी पात्रको जोडीलाई दर्शकले निकै रूचाएका थिए। उनीहरूले झन्डै ८ वर्षपछि फिल्ममा सहकार्य गर्न लागेका हुन्।
फिल्मलाई वीरबहादुर घलेले निर्माण गर्दैछन्। दसैंको टिकापछि असोज २८ गतेबाट गोरखाको सिरानचोकबाट फिल्मको छायांकन सुरू गरिने निर्देशक गुरुङले बताए।
फिल्ममा रिश्मासँगै दयाहाङ राई, सौगात मल्ल, कविता आले, माओत्से गुरुङ, वीरबल घलेको पनि मुख्य भूमिका रहनेछ। 'जारी' र 'मनसरा' फेम्ड निर्देशक उपेन्द्र सुब्बाको लेखन रहेको फिल्मको दसैंको घटस्थापनाको दिन औपचारिक रुपमा शुभमुहूर्त गर्दै निर्माणको सुरूवात गरिनेछ।