फिल्म 'बेहुली फ्रम मेघौली' घटस्थापनाको अवसर पारेर यही बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ। यो फिल्मलाई स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेका हुन्।
शीर्ष भूमिकामा यी दुईले नै अभिनय गरेका छन्। फिल्मलाई लेखन तथा निर्देशन आकाश बराल र सजन काफ्लेले गरेका हुन्।
यो फिल्मको नाम सुरूमा अर्कै राखिएको थियो। लेखक तथा निर्देशकले निश्चल र स्वस्तिमासामु स्क्रिप्ट लिएर आउँदा फिल्मको नाम 'मंसिर' थियो।
'उनीहरूले मंसिर भनेर लिएर आएका थिए। मंसिर विवाहको सिजन भएकाले मंसिरमै फिल्म खिच्ने, मंसिरमै रिलिज गर्ने भनेर कुराकानी भएको थियो,' निश्चलले सम्झिए।
तर सो नाम चित्त नबुझेपछि धेरै छलफलपश्चात 'बेहुली फ्रम मेघौली' राखिएको स्वस्तिमाले बताइन्। उनका अनुसार नयाँ नाम जुराउन धेरै समय लागेको थियो।
उनले भनिन्, 'नामका लागि हामीले एकदमै धेरै स्ट्रगल गरेका थियौं। एउटा विशेष विषयमा रहेर बनाउँदै गरेको फिल्म थियो। सुन्दाखेरी अलिकति कर्मर्शीयल पनि लाग्नुपर्यो। नाम सुनेदेखि नै दर्शकलाई उत्सुकता होस् भन्ने भइरहेको थियो।'
स्वस्तिमाका अनुसार नाम जुराउने बेलामा सर्ट लिस्टमा 'मीनाको चिना, जन्ती आयो, कति बस्छौ माइतीकै कौसीमा, मंसिर २' लगायतका नामहरू आएका थिए।
निश्चलले भने, 'बेहुलीको स्टोरी हो। चितवनको मेघौलीमा सुटिङ गर्ने भएपछि बेहुली फ्रम मेघौली गर्दा राम्रो हुन्छ भन्ने लागेपछि यो नाम सुनाउँदा टिममा सबैले ओके गर्नुभयो।' यो नाम रोचक र कथासँग पनि मिल्दो लागेपछि फाइनल गरिएको उनले बताए।
निश्चल फिल्मको नामले पनि विशेष अर्थ राख्ने बताउँछन्। स्वस्तिमा नाम घोषणा फिल्मको पहिलो कन्टेन्ट भएकाले क्याच्ची होस् भन्ने लाग्ने बताउँछिन्।
उनी भन्छिन्, 'हामीले सुरूमा ल्याउने कन्टेन्ट नाम हो। नामलाई लिएर दर्शकले आफै पनि एक हिसाबको अनुमान गर्न सक्छन्। तसर्थ नाम सुन्दा दर्शकहरूलाई उत्सुकता हुने खालको होस् भन्ने लाग्छ।'
स्वस्तिमा र निश्चल आफूहरूले इन्जेजिङ फिल्म बनाएको बताउँछन्।
यो फिल्म ३० वर्ष उमेर पुग्न लागेकी युवतीले विवाहका लागि परिवार र समाजबाट झेलिरहेको दबाब, योग्य वर पाउन गरेको संघर्ष र हैरानीको कथामा बनेको छ।
यसमा स्वस्तिमा र निश्चलसहित बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, रक्षा थापा, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम लगायत कलाकारहरूको पनि अभिनय छ।
हलले फिल्मको बुकिङ खुला गरिसकेका छन्।