प्रदीप खड्का अभिनीत फिल्म ‘एक्लो’ को छायांकन सकिएको छ। साइन्स फिक्सन यो फिल्मको अपर मुस्ताङ र काठमाडौंमा गरी ३५ दिनमा छायांकन सकिएको हो।
फिल्मको पोस्ट प्रोडक्सनको काम लण्डनमा गरिने निर्देशक प्रदीप शाहीले बताए। यसको प्रदर्शन मिति भने तय भइसकेको छैन।
निर्देशक शाही नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने उद्देश्यका साथ 'एक्लो' निर्माण गरेको बताउँछन्।
बेलायतमा फिल्म मेकिङ पढेका शाहीले त्यहाँ केही सर्टफिल्म र सिरिजमा काम गरेपछि नेपाली फिल्म निर्देशनमा होमिएका थिए। यसअघि उनले 'गोर्खाः विनिथ द ब्रेभरी' र 'अन्तिम संस्कार' निर्देशन गरेका थिए।
फिल्म 'एक्लो'[ मा प्रदीप खड्का, बेनिशा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेती, कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज लगायत कलाकारहरूको अभिनय छ।
बेलायती अभिनेता जेमी बेकनले पनि फिल्ममा शीर्ष भूमिकामा अभिनय गरेका छन्। उनी बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन्।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्ममा ह्याम्साएर एकाउन्टेनको सहकार्य छ। 'एक्लो' का निर्माता राजु कुमार गुरूङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगीता बादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन्।
फिल्मलाई बाबु श्रेष्ठले छायांकन गरेका हुन्।