युट्युबको नेपाल ट्रेन्डिङमा फिल्मका गीत, टिजर र ट्रेलर अगाडि देखिएका छन्।
विराज भट्टको फिल्म '१२ गाउँ' को ट्रेलर युट्युब ट्रेन्डिङको शीर्ष ७ मा छ। यो फिल्मको ट्रेलर मंगलबार दिउँसो सार्वजनिक भएको थियो। युट्युब ट्रेन्डिङको यो खण्डमा '१२ गाउँ' को ट्रेलरभन्दा अगाडि भने सबै सर्टस् भिडिओहरू मात्रै छन्।
ट्रेलर युट्युबको मुभिज खण्डतर्फ भने शीर्ष स्थानमा छ। बुधबार दिउँसोसम्म ट्रेलरलाई युट्युबमा ६ लाखभन्दा बढीपटक हेरिएको छ।
दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म 'छक्का पञ्जा ५' को ब्रेकअप गीत युट्युब ट्रेन्डिङमा छ।
रिलिज हुनासाथ निकै चर्चा भएको यो गीत एक सातापछि ट्रेन्डिङमा उक्लिएको हो। गीतको भिडिओलाई बुधबार दिउँसोसम्म ७३ लाखभन्दा बढीपटक हेरिएको छ। 'छक्का पञ्जा ५' र '१२ गाउँ' दुवै असोज २४ गते रिलिज हुँदैछन्।
सज्जनराज वैद्यको गीत पनि यतिबेला युट्युब ट्रेन्डिङमा छ।
युट्युब ट्रेन्डिङमा मुभिज खण्डको कुरा गर्दा दोस्रो स्थानमा प्रदर्शनरत फिल्म 'खुस्मा' को ट्रेलर छ। धिरज मगर र उपासना सिंह ठकुरी अभिनीत यो फिल्मको ट्रेलर तीन साताअघि सार्वजनिक गरिएको थियो।
मुभिज खण्डको तेस्रो स्थानमा तिहारमा प्रदर्शनमा आउने फिल्म 'एक्टर' को टिजर छ। यो फिल्ममा प्रदीप खड्का, राजबल्लभ कोइराला, आना शर्मा, दिव्या रायमाझी लगायत कलाकारहरूको अभिनय छ।