कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुन लागेको फिल्म 'एक्टरः टेक वन' ले कमेडी रियालिटी शो 'कमेडी दरबार' सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ।
यो टुर काठमाडौं बाहिरका ६ मुख्य सहरहरू इटहरी, नारायणगढ, बुटवल, नेपालगन्ज, दाङ र पोखरामा हुनेछ।
यो प्रचारात्मक टुर कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुनेछ। कार्तिक १ गते सुनसरीको इटहरी, २ गते चितवनको नारायणगढ, ३ गते रुपन्देहीको बुटवल, ४ गते बाँकेको नेपालगन्ज, ५ गते दाङको तुलसीपुर र अन्तिम कार्यक्रम ७ गते कास्कीको पोखरामा सम्पन्न हुनेछ।
फिल्मका निर्माता थम्मन कुमार भण्डारीले कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई पनि स्थान दिने जानकारी दिए। लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुनेछ।
यो टुरमा 'एक्टरः टेक वन' का कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी लगायतको प्रस्तुति हुनेछ भने 'कमेडी दरबार' बाट कमेडियनहरू सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्र शाकी (मिस पबी), सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवाल लगायतको सहभागिता रहनेछ।
राजन भुसालको निर्देशन रहेको 'एक्टरः टेक वन' मा राजबल्लभ कोइराला, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको पनि अभिनय छ। फिल्मको कथा आकाश बराल र राजन भुसालले लेखेका हुन्।
'अदृत फिल्म्स' र 'मोती फिल्म्स' को संयुक्त प्रस्तुति रहेको यो फिल्मका निर्माता थम्मन कुमार भण्डारी र सह–निर्माता अनिश भुसाल हुन्। रचनात्मक निर्मातामा मोती कार्की छन्।