प्रदर्शनरत चलचित्रको महत्वपूर्ण दृश्य खिचेर सामाजिक सञ्जालमा अपलोड हुने क्रम बढेसँगै चलचित्र विकास बोर्डले त्यसो नगर्न आग्रह गरेको छ।
बोर्डले शुक्रबार सूचना जारी गर्दै चलचित्र तथा चलचित्रजन्य सिर्जनाहरूको अनाधिकृत प्रयोग नगर्न सचेत गराएको हो।
सूचनामा भनिएको छ, 'हाल नेपालमा प्रदर्शनरत नेपाली चलचित्रको मुख्य-मुख्य अंशहरुको भिडिओ सामाजिक सञ्जालभरि ब्याप्त भइरहेको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ। यसरी चलचित्रको मुख्य अंशहरूको अनाधिकृत दुरूपयोगबाट चलचित्रका निर्माताहरूको लगानी तथा यसमा सम्बद्ध सम्पूर्णको मेहनत डुब्न जाने अवस्था रहन जान्छ। अर्काको सिर्जना तथा सम्पत्तिको गैर कानुनीरूपमा विभिन्न डिजिटल माध्यमहरूमा अपलोड गर्नु कानुनीरूपमा दण्डनीय अपराध हो र यदि कसैले यसो गरेको पाइएमा प्रतिलिपि अधिकार ऐन, २०५९ र नियमावली, २०६१ अनुसार त्यस्तो काममा प्रयोग गरिएका उपकरण जफत हुनुका साथै तपाईँले दण्ड, जरिवाना र क्षतिपूर्ति समेत व्यहोर्नुपर्ने हुन्छ।'
बोर्डले चलचित्र हलभित्र मोबाइल, क्यामेरा लगायत कुनै पनि किसिमका भिडिओ खिच्ने सामग्रीको प्रयोग नगर्न, नगराउन समेत आग्रह गरेको छ।