अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्।
नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिवलको गुडविल एम्बेस्डरमा उनीहरूलाई काठमाडौंमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो।
कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौंमा बलुनमा उडेर चलचित्रको सुटिङ गरेको अनुभव सुनाए।
साथै अब नयाँ चलचित्रमा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए।
नेपालमा ट्रेकिङदेखि अन्य विभिन्न पर्यटनका साथै पछिल्लो समय एड्भेन्चरले समेत प्राथमिकता पाउँदै गएको उनले बताए। जसको उदाहरण बलुन नेपालमार्फत् हट एयर बलुनमा उड्न पाउनु समेत रहेको उनको भनाइ छ। अन्तर्राष्ट्रिय बलुन महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत महानायक हमालले विश्वास व्यक्त गरे।
नायिका कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन्।
‘म यो ऐतिहासिक कार्यक्रमको एउटा हिस्सा बन्न पाउँदा अत्यन्त खुसी छु,’ उनले भनिन्।
बलुन नेपाल प्रालिको आयोजना र रिज्म्याटिक इन्टरटेन्मेन्टसँगको सहकार्यमा पर्यटन राजधानी पोखरामा नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना गर्न लागेको हो।
क्रिष्टमस र अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आगामी पुस ९ गतेदेखि १६ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको हो। कार्यक्रममा बलुनमा उड्न चाहने पर्यटकका लागि कम्पनीको आधिकारिक वेबसाइटमार्फत अग्रिम बुकिङ समेत खुला गरिएको छ।
साथै गैर आवासीय नेपाली समाज (एनआरएनए) बाट पनि यस कार्यक्रमको प्रवर्द्धन हुँदैछ। जसका लागि कम्पनीका निर्देशक समेत रहेका बेलायतका दीपककुमार श्रेष्ठ र रोबर्ट विश्वकर्माले समन्वय गरिरहेको कम्पनीका प्रबन्ध निर्देशक सबिन महर्जनले जानकारी दिए।