प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सव मनाउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय पर्वतीय कला महोत्सव आयोजना हुने भएको छ। यही अक्टोबर १८–२४ तारिख (कार्तिक २–८ गते) सम्म महोत्सव आयोजना हुन लागेको हो।
मुस्ताङ पारम्परिक संगीत, नृत्य, विभिन्न सांस्कृतिक परम्पराका लागि प्रख्यात छ। सोही कलालाई चित्रकारहरूमाझ बाँड्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजक समितिका ट्रिपल पी गुरूङले बताए। उनका अनुसार महोत्सवमा मुस्ताङका मार्फा, थिनी, कागबेनी र जोमसोम लगायतका स्थानमा यी कार्यक्रमहरू गरिनेछ।
त्यसका साथै, महोत्सवमा आउटडोर चित्रकला कार्यशाला, फोसिल हन्ट एन्ड स्टोन आर्ट, साउन्ड हिलिङ लगायत विभिन्न सांस्कृतिक र सांगीतिक कार्यक्रम हुनेछ। महोत्सवको अर्को आकर्षण ‘ट्राभलिङ किम्फ’ हो। त्यस अन्तर्गत अक्टोबर २० देखि २४ तारिखसम्म हरेक साँझ दुई घण्टा हिमाली क्षेत्रका नामी चलचित्रहरू देखाइनेछ। यसलाई काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) ले संयोजन गर्नेछ।
महोत्सवमा अन्तर्राष्ट्रिय चित्रकारहरू थाइल्यान्डबाट डिरेक किङ्नक र काराज डब्लुएसपी, पोल्यान्डबाट इवा क्रूएजकोस्का, रोमानियाबाट स्टेफन बालोग, भुटानबाट जामपेल छेदा, इन्डोनेसियाबाट एमी गो र ताइवानबाट छेङ हान–वेनलगायतले सहभागिता जनाउँदै छन्। यस्तै नेपालका चित्रकार सिर्जन राजभण्डारी, एरिना ताम्राकार, हरेराम जोजु, एनबी गुरूङ, वाङ लामा, ध्वज गुरूङ, मनोज तामाङ, नविन नाल्बो र आकाश गुरूङले पनि आफ्नो प्रतिभा बाँड्नेछन्।
कार्यक्रममा नेपाल पर्यटन बोर्ड प्रबर्द्धन साझेदार छ। त्यसैगरी, ओम्स होम, रेड हाउस र ठमेल भिल्ला होटलले प्रायोजन गरेका छन्। युरोपियन युनियन, स्वीस सरकार विकास सहयोग एसडीसी, दलाइ ला, यति एयरलाइन्स, शेर्पा ब्रूअरी, हार्मोनिक लिबरेसन र होटल मर्स्याङ्दी सहयोगीमा छन्।