नेपाल पिक्चर लाइब्रेरीले आफ्नो फोटो प्रदर्शनी 'सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल' को देशव्यापी यात्रा सुरू गर्न लागेको छ। यही कात्तिकबाट यो यात्रा सुरू हुन लागेको हाे।
आयोजकका अनुसार देशव्यापी यात्राको पहिलो चरणमा वीरगन्ज र जनकपुरमा फोटो प्रदर्शनी हुनेछ। वीरगन्जको बिर्तामा रहेको त्रिजुद्ध महावीर प्रसाद रघुवीर राम माध्यमिक विद्यालयमा कात्तिक २, ३, र ४ गते हुँदैछ भने जनकपुरको तिरहुतिया गाछीमा ८, ९ र १० गते हुँदैछ।
'सार्वजनिक जीवनमा महिला: महिलावादी स्मृतिको एक पहल' नेपाल पिक्चर लाइब्रेरीको परियोजना हो, जसले नेपालको महिलावादी इतिहासलाई समृद्ध बनाउन योगदान पुर्याउँदै आएको छ। यस परियोजनाको उद्देश्य दृश्य अभिलेख, मौखिक इतिहास र सामुदायिक संलग्नतामार्फत नेपालको महिलावादी इतिहासलाई संरक्षण र प्रसार गर्नु हो। नेपालका महिलाहरूको सार्वजनिक जीवनमा रहेको योगदान उजागर गर्दै नेपाली समाजमा उनीहरूको ऐतिहासिक महत्त्व स्थापित गर्नु हो।
यो परियोजना २०७५ सालमा नेपाल पिक्चर लाइब्रेरीको दस्तावेज र अभिलेख सृजनाको पहलबाट सुरू भएको हो। २०८० सालमा पुस्तकको रूपमा पनि प्रकाशित भएको थियो। यस अन्तर्गत अहिलेसम्म काठमाडौं (नेपाल), नयाँ दिल्ली (भारत), कोची (भारत), इस्तानबुल (टर्की), सिंगापुर, र ब्रेडा (नेदरल्याण्ड) लगायतका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय स्थानहरूमा फोटो प्रदर्शनी गरिसकेको छ।
आयोजकका अनुसार अबको यात्रा नेपालका विभिन्न सात क्षेत्रमा हुनेछन्। प्रदर्शनीले ग्रामीण र सहरी क्षेत्रहरूमा महिला इतिहासको अभिलेखलाई पहुँचयोग्य र सान्दर्भिक बनाउँदै ऐक्यबद्धता निर्माण गर्न र महिलाको योगदानलाई संकलन र सम्झना गर्न साझा मञ्च प्रदान गर्नेछ।
पहिलो चरणको वीरगन्ज र जनकपुर यात्रापछि यो प्रदर्शनी बर्दिया, नेपालगंज, पोखरा, बागलुङ, पाल्पा, दाङ, रोल्पा, इलाम, झापा, विराटनगर, धरान, भोजपुर, बुटवल, भरतपुर र हेटौंडामा हुनेछ। प्रदर्शनीसँगै विभिन्न कार्यशाला, छलफल र सामुदायिक संवादहरू पनि आयोजना गरिनेछन् जसले महिलावादी इतिहासको समझदारीलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने आयोजक नेपाल पिक्चर लाइब्रेरीको भनाई छ।
नेपाल पिक्चर लाइब्रेरी एक स्वतन्त्र डिजिटल फोटो अभिलेख हो, जसले नेपालको इतिहासलाई विविधता प्रदान गर्दै पहुँचयोग्य र समावेशी सार्वजनिक अभिलेख श्रीजना गर्ने उद्देश्य राखेको छ।