इंग्लिस-आइरिस पप ब्याण्डका पूर्व सदस्य गायक लियम जेम्स पेनको मृत्यु भएको छ।
अर्जेन्टिनाको ब्युनस आयर्सस्थित एक होटलको तेस्रो तल्लाबाट खसेर ३१ वर्षीय पेनको मृत्यु भएको पश्चिमा मिडियाहरूले उल्लेख गरेका छन्।
समाचार संस्था एशोसियटेड प्रेसका अनुसार होटलको तेस्रो तल्लाको बाल्कोनीबाट खसेका उनी बुधबार मृत भेटिएका थिए।
ब्युनस आर्यसको प्रहरीले कासा सुर होटलबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ। चिकित्सकहरूले पेनको घटनास्थलमै मृत्यु भएको पुष्टी समेत गरेको ब्युनस आयर्स प्रहरीले वक्तव्यमा भनेको छ।
अर्जेन्टिनाको रक्षा मन्त्रालयका सूचना निर्देशक पाब्लो पोलिसिचियोले भने बुधबार साँझ ५ बजे पेन आफू बस्दै आएको होटल कोठाको तेस्रो तल्लाबाट हामफालेको बताएका छन्। एपीसँगको कुराकानीमा निर्देशक पोलिसिचियोले प्रहरीको इमरजेन्सी नम्बरमा घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी होटलमा पुगेको बताए।
पेनले अत्यधिक मदिरा वा लागू पदार्थको सेवन गरेको हुनसक्ने अनुमान गरिएको पनि निर्देशक पोलिसिचियोले एपीसँग बताएका छन्।
होटलका म्यानेजरले ९११ मा फोन गर्दा उनी अत्तालिएको सुनिएको थियो। म्यानेजरले तेस्रो तल्लाको कोठामा रहेको अतिथि अत्यधिक नशामा धूत रहेको र पूरै कोठा तोडफोड गरेको प्रहरीलाई सुनाएका थिए।
'उसले पूरै कोठा नष्ट गर्दैछ। कृपया तपाईं कसैलाई यहाँ पठाउनुस,' प्रहरीको आपतकालीन नम्बरमा फोन गरी होटल म्यानेजरले भनेका थिए।
प्रहरीले पेन नशामा थिए थिएनन् भन्ने विषय पोस्टमर्टम रिपोर्टपछि खुल्ने बताएको छ।
वन डिरेक्सन सन् २०१० मा लन्डनमा गठन भएको थियो।
ब्रिटिस टेलिभिजन गायन रियालिटी शो एक्स-फ्याक्टरमा प्रतिस्पर्धाका लागि गएका लियमसहित अरू चार प्रतिस्पर्धी मिलेर वन डिरेक्सन ब्याण्ड बनाएका थिए।
उक्त ब्याण्डले छोटो समयमै विश्वभर लोकप्रियता कमाएको थियो।