सुशील श्रेष्ठको मुख्य अभिनय रहेको फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक भएको छ।
सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक टिजर एक्सनका दृश्यले भरिपूर्ण छ। यसमा अभिनेता सुशील श्रेष्ठलाई एक्सन अवतारमा देख्न सकिन्छ। उनी यसअघि पछिल्लो पटक एक्सन फिल्म 'आउट लः दफा २१९' मा देखिएका थिए। यो फिल्ममा उनको कामलाई रूचाइएको थियो।
विजय केरूङको निर्देशनमा बनेको 'परिवर्तन' मा सुशीलसहित अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरू विष्ट, आशा पौडेल, आयुषा कार्कीलगायत कलाकारहरूको अभिनय रहेको छ।
टिजर रिलिज कार्यक्रममा बोल्दै फिल्मका निर्माता दिपक शिवाकोटीले 'परिवर्तन' ले देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास गरेको बताए।
निर्देशक विजय केरूङले टिजरमार्फत 'परिवर्तन' को मुख्य सन्देश दर्शकसमक्ष पुर्याउन खोजिएको बताए। उनका अनुसार फिल्मले युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई प्रस्तुत गर्नेछ।
शिवम अधिकारीको लेखनमा बनेको फिल्ममा एस.डी. योगीको संगीत, श्री श्रेष्ठको एक्सन निर्देशन, शिव ढकालको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।
'परिवर्तन' आगामी माघ ९ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर छ।