दसैं फूलपातीमा रिलिज फिल्म 'ज्वाइँ साब' ले कम शो पाए पनि प्राप्त शोमा राम्रो अकुपेन्सीमा चलिरहेको निर्माण पक्षले जनाएको छ।
फिल्मका कलाकारहरू हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन्। दर्शकहरूले पनि फिल्मलाई सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।
काठमाडौंका हल–हलमा पुगिरहेको फिल्मको टिम बुधबार नेपालगञ्ज पुगेको थियो, जहाँका हलमा फिल्म हेर्न दर्शकको उत्साहजनक उपस्थिति देखियो।
निर्देशक वसन्त निरौला, अभिनेता जितु नेपाल र अभिनेत्री नीति शाहसहितको टिम नेपालगञ्जको क्युएफएक्स वागेश्वरी र सिने रोयलमा पुगेर दर्शकसँगै बसेर फिल्म हेरेका थिए। त्यसक्रममा दर्शकहरूले फिल्म मन परेको प्रतिक्रिया दिए।
दर्शक प्रतिक्रियाले उत्साहित जितु नेपालले शो बाँडफाँडमा आफूहरू मारमा परेको बताए। सञ्चारकर्मीसँगको कुराकानीमा उनले दर्शक अकुपेन्सी राम्रो भइरहँदा पनि कम शो दिइएको गुनासो गरे।
'यो मौलिक कथामा बनेको पूर्ण पारिवारिक फिल्म हो। जतिले हेर्नुभएको छ, एकदमै राम्रो प्रतिक्रिया दिइरहनुभएको छ,' उनले भने, 'तर दुर्भाग्यको कुरा, हलवालाले शो व्यवस्थापनमा किन त्यसो गर्नुभयो थाहा छैन।'
निर्देशक वसन्त निरौलाले फिल्म लागेका स्थानमा राम्रो प्रतिक्रिया पाइरहेको बताए। उनले पनि अकुपेन्सी बढ्दा समेत फिल्मलाई कम शो दिइएको र प्राइम टाइममा शो नदिएको गुनासो गरे।
'फिल्म चल्न हल, वितरक वा सम्बन्धित निकायले वातावरण मिलाउनुपर्छ। हाम्रो फिल्मलाई बिहान ५ः४५ को शो राखिदिनुभएको छ, त्यतिबेला फिल्म हेर्न कोही हलमा जान्छ? बेलुका साढे १० बजेको शो राखिदिनुभएको छ,' निरौलाले भने, 'हामीले यति शो चाहिन्छ भनेको होइन्, हामीलाई प्राइम टाइममा एउटा वा दुइटा शो दिनुहोस्, यदि चल्दै/चल्दैन भने निकाल्दिनुस्। ओपनिङमा राम्रो नभएको फिल्मले माउथ पब्लिसिटीका कारण पिकअप लिएका धेरै उदाहरण छन्। हामीलाई प्राइम टाइममा केही शो दिनुहोस् भन्ने अहिले पनि हाम्रो अनुरोध हो।'
फिल्म 'ज्वाइँ साब' सोसल–कमेडी जनरामा बनेको फिल्म हो। यसमा जितु र नीतिका साथमा बुद्दि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दीपक आचार्य लगायत कलाकारहरूको अभिनय छ।
सबिन अधिकारीको कथा रहेको फिल्मलाई शंकर धितालले लेखेका हुन्। राजकुमार पण्डितको प्रस्तुति रहेको फिल्मको निर्मातामा समीर पण्डित, सौगात पण्डित र पदमलाल तामाङ छन्।