स्वस्तिमा खड्का र निश्चल बस्नेतले 'बेहुली फ्रम मेघौली' लाई बिहीबारदेखि हलबाट उतारे। यो फिल्म असोज १७ गते घटस्थापनाको दिन रिलिज भएको थियो।
दोस्रो सातादेखि तीनवटा नेपालीसहित एक विदेशी फिल्म प्रदर्शनमा आएपछि बेहुली फ्रम मेघौलीको शो घटेको थियो।
त्यसपछि फिल्म निर्माता तथा अभिनेता निश्चलले दर्शकको राम्रो साथ र राम्रो अकुपेन्सी हुँदा पनि फिल्मले कम शो पाएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि पोखे। अकुपेन्सी राम्रो नहुँदा पनि हिन्दी फिल्मलाई धेरै शो दिइएको उनको गुनासो छ।
त्यसैले हलको विकल्प खोज्नुपर्ने अवस्था आएको भन्दै निश्चल र स्वस्तिमाले बिहीबारदेखि सबै हलबाट आफ्नो फिल्म उतारे। यसलाई छिट्टै ओटिटी प्लेटफर्मममा रिलिज गर्ने उनीहरूले बताएका छन्।
निश्चलको यो गुनासोबारे हामीले सिनेमा हलहरूलाई सोध्यौं।
देशकै सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सकी प्रबन्ध निर्देशक तृप्ति गिरीले यसबारे जबाफ दिँदै भनिन्, 'हिन्दी फिल्मका कारण होइन, नयाँ नेपाली फिल्महरूका कारण बेहुली फ्रम मेघौलीको शो घटाउनुपरेको हो।'
नयाँ रिलिज नेपाली फिल्महरूले राम्रो व्यापार गरेपछि शो बढाउँदै लगिएको र अघिल्लो साता रिलिज भएका फिल्मको शो घटाएको उनको भनाइ छ।
'रिलिज भएको पहिलो साता बेहुली फ्रम मेघौलीलाई पनि अहिले अरू नेपाली फिल्मजस्तै उच्च शो दिएकै हो। नयाँ फिल्म रिलिज भएपछि त्यसले पाएको शो अरूतिर गयो, जुन फिल्म बिजनेसमा स्वाभाविक हो,' उनले भनिन्।
यसपालि दसैंमा नेपाली फिल्मलाई नै प्राथमिकता दिनेबारे पहिल्यै छलफल भइसकेको र त्यसैअनुसार गरेको पनि उनले बताइन्।
'दसैंमा नेपाली फिल्मलाई नै केन्द्रित गर्ने हो, हिन्दी फिल्म ल्याउनुभयो भने धेरै शो दिन सक्दैनौं भनेर वितरकहरूलाई पहिल्यै भनिसकेका थियौं,' गिरीले भनिन्, 'आएका हिन्दी फिल्मलाई बिहान वा रातिको अफटाइम शो दियौं। सबैले नेपाली फिल्म खोज्नुभयो, हामीले पनि नेपाली नै देखायौं। कुन आधारमा हिन्दी फिल्मलाई बढी शो दिइयो भन्न खोजेको हो, हामीले बुझ्न सकेका छैनौं।'
उनले हिन्दी फिल्मको शो तालिका हेरे यथार्थ थाहा भइहाल्ने भन्दै अगाडि थपिन्, 'उहाँ (निश्चल बस्नेत) ले के देखेर त्यो लेख्नुभयो थाहा छैन। मैले कमेन्ट गर्ने कुरा पनि भएन। बुधबारसम्म पनि उहाँहरूलाई शो दिएकै हो। राम्रो गरिरहेको ठाउँमा निरन्तरता दिएकै थियौं। बेहुली फ्रम मेघौलीको शो हिन्दीले होइन, नेपाली फिल्मले लिएको हो।'
फिल्मले राम्रो गरिरहेकाले आगामी साता पनि यसको प्रदर्शनलाई निरन्तरता दिने आफूहरूको योजना रहेकोमा निर्माताले आग्रह गरेपछि हटाइएको उनको भनाइ छ।
फिल्म हल सञ्चालक तथा वितरकहरूको छाता संस्था नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन पनि हिन्दी फिल्मका कारण बेहुली फ्रम मेघौलीको शो नकाटिएको बताउँछन्।
कीर्तिपुर सिनेप्लेक्सका सञ्चालकसमेत रहेका उनले प्रतिप्रश्न गरे, 'हिन्दी फिल्म राम्रो चलेकै छैन, त्यसले अरूको शो कसरी काट्छ?'
अहिले 'छक्कापञ्जा ५' र '१२ गाउँ' ले राम्रो गरेपछि यी दुइटा फिल्मका लागि बेहुली फ्रम मेघौलीको शो घटाउनुपरेको उनको दाबी छ।
'दुइटै फिल्मको ओपनिङ एकदमै राम्रो आयो। यी नयाँ फिल्मको प्रेसरले बेहुली फ्रम मेघौलीको शो घटाइएको हो,' उनले भने, 'जहाँ अकुपेन्सी राम्रो छ, त्यहाँ त चलिरहेकै थियो।'