नेपाली फिल्म 'पूजा सर' को कार्यकारी निर्मातामा बलिउड निर्देशक अनुराग कश्यप जोडिएका छन्।
दीपक रौनियार निर्देशित फिल्ममा अनुराग कश्यप कार्यकारी निर्माताको रूपमा जोडिएको भेराइटी म्यागेजिनमा उल्लेख छ। सेतो सूर्य हेरेपछि आफू रौनियारको फ्यान भएको उनले बताएका छन्।
'पूजा सरमा जोडिनु पाउनु मेरो लागि गर्वको कुरा हो। यो एक मार्मिक र सान्दर्भिक विधाको फिल्म मात्रै होइन् यसले मेरो बारेमा बोल्छ। म विश्वस्त छु कि फिल्मले भारतको दर्शककको बारेमा पनि बोल्नेछ। सेतो सूर्य हेरेपछि म दीपकको फ्यान भएको हुँ। दीपक र मीन भाम नेपालका दुई रोमाञ्चक आवाज हुन्। उनीहरू आउन बाँकी रहेको नेपाली सिनेमाका अग्रणी व्यक्ति समेत हुन्', उनले भेराइटीसँग भनेका छन्।
आदि फिल्म्स, बाँसुरी फिल्म्स र ट्यानहाउजर गेटको सहकार्यमा बनेको फिल्ममा आशा मगराती, दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, विजय बराल लगायत कलाकारको अभिनय छ। यो फिल्म चैत १ गतेदेखि नेपालका हलमा रिलिज हुँदैछ।
इटालीको भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको यो फिल्म हालै बुसान फेस्टिभलमा स्क्रिनिङ भएको थियो। भारतको मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएको छ।