फिल्म 'फेरि रेशम फिलिली' को पहिलो सेड्युलको छायांकन सकिएको छ।
दसैं लगत्तै सुरू गरिएको फिल्मको पहिलो चरणको छायांकन सकिएको हो। काठमाडौं र काभ्रेको पाँचखालमा १२ दिन छायांकन गरिएको थियो।
फिल्मको दोस्रो चरणको छायांकन तिहारपछि कार्तिक २२ गते बाराबाट सुरू हुने निर्माता रौनक विक्रम कडेलले बताए। फिल्मको केही प्रतिशत छायांकन निर्माता कडेलको गृह जिल्ला चितवनमा पनि गरिनेछ।
यो फिल्म २०७२ सालमा रिलिज भएको 'रेशम फिलिली' को सिक्वेल हो। फिल्ममा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, मेक्सम गौडेल, एवनराज उप्रेतीलगायत कलाकारको अभिनय रहने छ। विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ।
मेनुका प्रधानसँगै फिल्ममा निर्देशक पनि परिवर्तन भएका छन्। पहिलो सिक्वेललाई प्रणव जोशीले निर्देशन गरेका थिए भने 'फेरि रेशम फिलिली' लाई निरोज महर्जनले निर्देशन गरिरहेका छन्।
'दिमाग खराब' का निर्माता रौनक विक्रम कँडेलको लगानी रहने फिल्मको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन्।
सिनेमा आट्र्सले वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भइरहेको फिल्ममा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ।