जी सेभेन प्रोडक्सनको ब्यानरमा फिल्म 'डोरी' निर्माण हुने भएको छ।
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस फिल्मलाई अरूण लामाले निर्देशन गर्नेछन्।
यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर फिल्म हुनेछ।
निर्देशक लामाले 'डोरी' ले नेपाली फिल्म क्षेत्रमा नयाँ शैलीको कथा प्रस्तुत गर्ने बताएका छन्। फिल्मको कथा परिवारको आर्थिक बोझ हल्का गर्न जीवनका जोखिमपूर्ण निर्णयहरू लिने एउटा जीवनको गहिरो दुष्चक्रमा फसेको संघर्षशील युवाको वरिपरि घुम्ने निर्देशकले जनाए।
उनका अनुसार फिल्ममा हाँसो, त्रास, र असफलतासहितको संघर्षलाई रोचक तरिकामा प्रस्तुत गरिने छ।
फिल्ममा मुख्य भूमिकामा प्रवीण खतिवडा, शिशिर बाङ्देल, कविता आले, राज पौडेल, विशाल राई, मिलन राई, नूतन, र वीरेन्द्र सिंह कुशवाहा लगायतको अभिनय रहनेछ भने मुख्य नायिकाको चयनको प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ।
यस फिल्ममा प्रमुख भूमिका निभाउने मध्येका एक कलाकार राज पौडेलले यही फिल्ममार्फत फिल्म अभिनयमा डेब्यु गर्दैछन्।
फिल्मको लेखन निर्देशक अरूण लामाले नै गरेका छन् भने स्क्रिप्टलाई अझ प्रभावकारी बनाउन मनोज पण्डितले डक्टरिङ गरेका छन्।
यसका निर्माताको नाम 'मिस्टर एक्स' रहेको जनाएको छ भने कार्यकारी निर्माता राज थापा रहेका छन्। सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन्।
'डोरी' लाई सन् २०२५ मा सिनेमा घरहरूमा प्रदर्शनमा ल्याइने जनाइएको छ।