चर्चित डकु–ड्रामा 'उजेली' का निर्देशक दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको फिचर फिल्म 'मिसिङः केटी हराएको सूचना' कात्तिक ३० गतेदेखि देशभरका हलमा प्रदर्शनमा आउँदैछ।
नाजिर हुसेन र सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा रहेको फिल्ममा सामाजिक सञ्जालमा भेटिएको युवायुवतीको कथा देखाइएको छ।
कम्बोडिया बस्दै आएका निर्देशक गौचनले २२ वर्षपछि नेपाल फर्किएर यो फिल्म बनाएका हुन्।
उनका अनुसार यो फिल्म नेपालमा बनिरहेका भन्दा विल्कुलै अलग छ। कथावस्तुसँगै बनाउने प्रक्रिया पनि नयाँ रहेको उनले बताए।
'नेपालमा यस्तो फिल्म कमै बन्छन्। यसको ९५ प्रतिशत दृश्यमा दुई जना मात्रै कलाकार देखिन्छ,' गौचनले भने।
दुई जनाको कथा भएको र उनीहरूमा केन्द्रित हुनुपर्ने भएकाले सबैभन्दा ठूलो चुनौती कास्टिङमा महसुस गरेको उनले बताए।
'दुई जना (नाजिर र सृष्टि) पाएपछि एकदमै खुसी भएँ,' गौचन भन्छन् 'कतिपयले मलाई यो फिल्म किन हेर्ने भनेर सोध्नुहुन्छ। यसको कथावस्तु रोचक छ, त्यो आफ्नो ठाउँमा छ। म भन्छु, यो फिल्ममा अभिनय हेर्न आउनूस्।'
उनी कलाकारको प्रस्तुति राम्रो भयो भने बाँकी काम सरल, साधारण हुँदा पनि फिल्म राम्रो बन्ने बताउँछन्।
उजेलीलाई लिएर अहिलेसम्म जसरी चर्चा हुन्छ फिल्मलाई पनि पछिसम्म सम्झिने गरी बनाउने कोसिस गरिरहेको बताए।
अभिनेता नाजिर हुसेनले यो फिल्ममा जोडिन पाउनुमा भाग्यमानी ठान्ने गरेको बताए। अभिनेत्री सृष्टि श्रेष्ठले ‘केटी हराएको सूचना’ आफ्नो लागि अहिलेसम्मकै उत्कृष्ट काम रहेको बताइन्।
ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा निर्देशक गौचन स्वयं छन्। कार्यकारी निर्मातामा नकिम उद्दिन र किरणभक्त जोशी छन्।
फिल्मको ट्रेलर युट्युबमा सार्वजनिक भइसकेको छ।