शोभित बस्नेत निर्देशित फिल्म 'पीआरः पर्मानेन्ट रेसिडेन्ट’ को काठमाडौंमा प्रिमियर शो गरिएको छ।
बुधबार बेलुका सामाखुसीस्थित सिटी स्क्वायर हलमा आयोजित शोमा फिल्मको टिम, अन्य फिल्मकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति रह्यो।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक दीपाश्री निरौला, दीपक आचार्य (काकु), अभिनेत्री गौरी मल्ल, रेजिना उप्रेती, करिश्मा केसी, रेखा थापा, अभिनेता जयकिशन बस्नेत, सविन श्रेष्ठ, निर्मल शर्मा, सलिनमान बनियाँ, प्रभात पाल, गायिका देविका बन्दनालगायत धेरै सेलिब्रेटी प्रिमियरमा सहभागी भए।
अभिनेत्री रेखा थापाले फिल्म राम्रो बनेको र नव-कलाकारहरूको अभिनय मन परेको प्रतिक्रिया दिइन्। त्यसैगरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले निर्देशक शोभित बस्नेतको निर्देशन र कलाकारहरूको अभिनय प्रशंसनीय रहेको बताए।

उपस्थित प्रायःले फिल्मबारे सकारात्मक प्रतिक्रिया दिएका थिए। अभिनेता सलिनमान बनियाँले मुख्य कलाकारहरूको अभिनय परिपक्व देखिएको बताए। 'नयाँ कलाकारहरूको प्रस्तुति पुराना कलाकार सरह नै लाग्यो', उनले भने।
फिल्मका निर्देशक शोभित बस्नेतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदा खुसी लागेको बताए। फिल्मको कथाले अस्ट्रेलियामा स्थायी आवासीय (पीआर) प्राप्ति प्रक्रियामा नेपाली विद्यार्थीले व्यहोर्नुपर्ने संघर्ष तथा घरपरिवारको आर्थिक दबाब जस्ता यथार्थ पक्षलाई उठाइएको छ। नेपाल र अस्ट्रेलियामा छायांकन गरिएको फिल्मले वैदेशिक अध्ययनसँग जोडिएका सामाजिक पाटोलाई चित्रण गर्छ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन्। विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिएका छन्।
फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको रहेको छ। फिल्ममा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन्। गणेश बुढाथोकीले लेखन, बन्दे प्रसादले सम्पादन तथा सौरभ सायमी र सौरभ लामाले छायांकन गरेका हुन्। फिल्मको वितरण आर.आर. फिल्म्सले गर्दैछ।
'पीआर' फिल्म यही शुक्रबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउनेछ। फिल्मको अग्रिम टिकट बिक्री खुलिसकेको छ।