फिल्म 'हरिबहादुरको जुत्ता' को शीर्ष अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन्।
निर्माण पक्ष र खड्काबीच फिल्मलाई लिएर लिखित सम्झौता भएको छ। दीपेन्द्र के खनालको निर्देशन रहने फिल्ममा यसअघि वरिष्ठ अभिनेता हरिवंश आचार्य र गायक तथा अभिनेता प्रकाश सपुत फाइनल भइसकेका छन्।
हरिवंशको पटकथा तथा संवाद रहने फिल्मलाई गायक तथा म्युजिक भिडिओ निर्माता सरोज ओलीले निर्माण गर्न लागेका हुन्।
निर्माता ओलीका अनुसार फिल्ममा अभिनेत्री प्रियंका कार्की पनि अनुबन्धित भएकी छिन्। त्यस्तै, अभिनेता दिव्य देव र हास्य कलाकार दिनेश काफ्ले पनि अनुबन्धित भइसकेका छन्।
'स्वस्तिमाजी शीर्ष अभिनेत्रीमा हुनुभयो। अन्य कलाकारहरूलाई पनि बलियो भूमिकामा देख्न पाउनुहुनेछ,' निर्माता ओलीले भने।
फिल्मको छायांकन माघको तेस्रो सातादेखि काभ्रेमा सुरू गर्ने तयारी छ।