विजय बराल अभिनीत फिल्म 'पूर्णबहादुरको सारंगी' ले ११ दिनमा २० करोड ७३ लाख रूपैयाँ ग्रस कमाइ गरेको छ।
वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले आइतबार २ करोड ७५ लाख ग्रस कमाइ गरेसँगै बक्स अफिसमा २० करोड रूपैयाँको आँकडा पार भएको हो।
फिल्मले शुक्रबार २ करोड ९९ लाख र शनिबार ३ करोड ८९ लाख रूपैयाँ ग्रस कमाइ गरेको थियो। शनिबारको व्यापार नेपाली फिल्मको इतिहासमा एकदिनको सर्वाधिक हो।
व्यापारको रफ्तार हेर्दा यसले केही दिनमै नेपाली फिल्मको इतिहासमै सर्वाधिक कमाइको रेकर्ड राख्न सक्ने देखिन्छ।
सरोज पौडेलको लेखन तथा निर्देशन रहेको 'पूर्णबहादुरको सारंगी' सर्वाधिक शोसहित दोस्रो सातामा प्रदर्शनरत छ।
फिल्ममा विजयका साथमा प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ।
फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका निर्माता हुन्।
गन्धर्व समुदायको कथामा फिल्म बनेको हो। यसमा छोराका लागि बाबुले गर्ने संघर्षलाई मर्मस्पर्शी रूपमा देखाइएको छ।