अभिनेता जितु नेपाल फिल्म 'ज्वाइँ साब' पछि अब 'कार्साङ्' मा देखिँदैछन्। पोस्ट प्रोडक्सनमा रहेको यो फिल्म पुस २६ गते रिलिज हुँदैछ।
यसैबीच निर्माण पक्षले अभिनेता नेपालको पात्र लुक्स सार्वजनिक गरेको छ।
मंगलबार सार्वजनिक लुक्स पोस्टरमा जितु कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका छन्।
झोला घुँडामा अड्याएका उनले हातमा कचौरो बोकेका छन्। पृष्ठभूमिमा रहेका घर, पहाड, कुहिरो हेर्दा उनी कुनै लेकाली गाउँका स्थानीय हुन् भन्ने अनुमान हुन्छ। पोस्टरमा 'मकै त पिन्ने घट्टामा पिरती बस्यो ठट्टामा' लेखिएको छ।
यसअघि अभिनेता दयाहाङ राईको पात्र लुक्स सार्वजनिक गरेको 'कार्साङ' ले बिस्तारै प्रचार सुरू गरेको छ।
यम शेर्पाको डेब्यु लेखन तथा निर्देशन रहेको 'कार्साङ्' शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको फिल्म हो। यसमा दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायत कलाकारहरूको अभिनय छ।
यार्सा फिल्म्स र पुरूषोत्तम प्रधान फिल्म्सको प्रस्तुतिमा निर्माण 'कार्साङ्' मा पुरुषोत्तम प्रधान छायांकार र निर्माता हुन्। सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्मातामा आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन्।
फिल्मलाई आरआर फिल्मले देशभर वितरण गर्नेछ।