हलमा 'पूर्णबहादुरको सारंगी' को दबदबा कायमै रहँदा आउँदो शुक्रबार नयाँ नेपाली फिल्म 'ह्रस्व दीर्घ' रिलिज हुँदैछ।
नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको फिल्मको मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बिक्री खुलाउन सुरू गरेका छन्।
देशको सबभन्दा ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मंगलबार बेलुका यो फिल्मको शो बाँडफाँट गर्दै अग्रिम बुकिङ खुलाएको छ।
क्युएफएक्समा फिल्मले राम्रै शो पाएको छ। क्युएफएक्सले काठमाडौंभित्रका आउटलेटमा २१ र बाहिरका आउटलेटमा २४ शो दिएको छ।
आईएनआई सिनेमाज, बिग मुभिज, वान सिनेमाज लगायतका मल्टिप्लेक्समा पनि बुकिङ खुलाउने तयारी छ।
चन्द्र पन्त निर्देशित 'ह्रस्व दीर्घ' अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन्।
फिल्ममा उनीहरूका साथमा प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायत कलाकारको अभिनय छ।
नीता फिल्म्सको ब्यानरमा बनेको फिल्मको कथा र पटकथा हरिहरको हो भने संवाद प्रतीक पौडेलले लेखेका हुन्। फिल्म भारतीय छायांकार कवीरलालले छायांकन गरेका हुन्।
यो फिल्म ६ करोड लगानीमा बनेको बताइएको छ।