अभिनेत्री नीता ढुंगानाले आफू निर्मित फिल्म 'ह्रस्वदीर्घ' ले लगानी सुरक्षित गरिसकेको बताएकी छन्।
नेपाल प्रदर्शन, ओटिटी प्लेटफर्म, विदेश राइटस् लगायतबाट लगानी सुरक्षित भइसकेको उनको दाबी छ।
नेपाली र भारतीय फिल्मका कलाकार अभिनीत यो फिल्मको लगानी ५ करोडमाथि रहेको बताइएको छ।
फिल्मले नेपाल प्रदर्शनमा बुधबारसम्म ५ करोड ४ लाख रूपैयाँ कमाइ गरेको छ। यसको ४० प्रतिशत हाराहारी मात्रै निर्मातालाई आउँछ।
फिल्मको लगानी र कमाइलाई लिएर चासो भइरहँदा नीताले शुक्रबार फेसबुकमा स्टाटस लेख्दै आफूहरू पूर्ण रूपमा सुरक्षित भइसकेको बताएकी हुन्।
उनी लेख्छिन्, 'नेपालको हाइप र नेपाली दर्शकले दिएको प्रतिक्रियालाई लिएर भारतमा हामीले ओटिटी प्लेटफर्ममा फिल्म बेचिसकेको छौं। र, केही समय पछाडि भारतमा पनि हामीले थ्रिएटर रिलिज गर्नेछौं। ओभरसिसको पनि प्लानिङ भइसकेको छ। केही समय, केही ठाउँमा हामीले बक्स अफिस गर्दैछौं भने केही ठाउँमा सोल्ड आउट नै भइसकेको छ। र, पूर्ण रूपले हामी सेभ भइसकेको छौं।'
'ह्रस्व दीर्घ' मा नीता ढुंगाना र उनका श्रीमान ज्योतिषी तथा अभिनेता हरिहर अधिकारी शीर्ष भूमिकामा छन्। फिल्म चन्द्र पन्तले निर्देशन गरेका हुन्।
नीता र हरिहरसहित ब्रह्मानन्दम, प्रदीप रावत, अली, कवीर दुहान सिंह, सुनिल वर्मा, प्रशान्त ताम्राकार, सञ्चीता लुईँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ, किरण केसी लगायत कलाकारहरूले अभिनय गरेका छन्।