भारतका चर्चित कमेडियन तथा अभिनेता सुनील ग्रोवर यो साता नेपाल आउँदैछन्।
उनी लाइभ स्टेज प्रस्तुतिका लागि काठमाडौं आउन लागेका हुन्।
२९ नोभेम्बर (मंसिर १४) शुक्रबारका दिन होटल एभरेस्टको मैदानमा 'सुनील ग्रोवर लाइभ इन नेपाल' कार्यक्रम हुँदैछ।
लिक्विट इन्टिलिजेन्स प्रा.लिले आयोजना गरेको कार्यक्रममा सुनीलले ३ घण्टा आफ्नो प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्।
'सुनील ग्रोवर आफ्नो ६ जनाको टिमसहित बिहीबार काठमाडौं आउनुहुनेछ,' आयोजक लिक्विड इन्टिलिजेन्सका प्रबन्ध निर्देशक विभूषण गौतमले भने, 'कार्यक्रमको तयारी तीव्र भइरहेको छ।'
बेलुका ६ बजेदेखि कार्यक्रम सुरू हुनेछ। आयोजकका अनुसार टिकट बिक्री धमाधम भइरहेको छ। कार्यक्रममा ३५ सय दर्शकको उपस्थिति हुने अनुमान आयोजकको छ।
लिक्विड इन्टिलिजेन्सले यसअघि पनि भारतीय चर्चित कलाकारलाई ल्याएर कार्यक्रम गरिसकेको छ। नेपाली कमेडियनहरूको कार्यक्रम पनि आयोजना गर्दै आइरहेको छ।
सुनीलको कति हुनेछ बसाइ?
कार्यक्रमको एक दिनअघि काठमाडौं आउने सुनील कार्यक्रमको भोलिपल्ट भारत फर्किनेछन्।
आयोजकले उनलाई नगरकोट घुमाउने तयारी गरेको छ। सुनीलले पशुपतिनाथ मन्दिर दर्शन गर्ने इच्छा राखेको आयोजकले जानकारी दिए।
सुनील यसअघि २०७४ सालमा काठमाडौं आउँदा पनि पशुपतिनाथ मन्दिर दर्शन गरेका थिए।