म्युजिकल फिल्म 'कोठा' सार्वजनिक गरिएको छ।
शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक फिल्ममा डेरा गरेर भविष्य खोजिरहेको युवा र युवाको मनोविज्ञानलाई प्रस्तुत गरिएको छ।
आर्ट घरको निर्माणमा तयार भएको म्युजिकल फिल्मलाई भीष्म जोशीले लेखन तथा निर्देशन गरेका हुन्।
सपना बोकेर काठमाडौं आएको ग्रामीण युवाको भोगाइ फिल्ममा देख्न सकिन्छ। निर्देशक जोशीले सहरमा भविष्य खोजिरहँदा गाउँमै छुटेका अतीतहरू अनि सहरमा भेटिएका र देखिएका रहरहरूको संयोजनलाई फिल्ममार्फत देखाएका छन्।
पछिल्लो समयका चर्चामा आएका गायक तथा संगीतकार प्रशान्त सिवाकोटीको आवाज तथा उनैको संगीत रहेको 'कोठा' मा आधुनिक र लोक दुवै लय सुन्न सकिन्छ। यसमा देउडा भाकालाई पनि स्थान दिइएको छ।
आयोजित कार्यक्रममा सिवाकोटीले भने 'आफू झापाली भएर पनि सुदूरपश्चिमको देउडा भाका कोठा मार्फत गाउने प्रयास गरेको छु। विश्वास छ सबैले हाम्रो नयाँ सांगीतिक कोसेलीलाई माया गरिदिनुहुनेछ।'
निर्देशक जोशीले गाउँबाट सहर आएपछिका आफ्नै भोगाइ र अनुभूतिहरूलाई सँगालेर ‘कोठा’ तयार गरेको बताए।
नव–कलाकार प्रवीणकुमार पाण्डेको मुख्य अभिनय रहेको यस 'कोठा' मा सबि थापा, सरोज खड्का, कल्पना साही र शीतल पाण्डेको अभिनय छ।
सरोज श्रेष्ठको छायांकन, रिदेन श्रेष्ठ र धिरज अधिकारीको सम्पादन रहेको यस म्युजिकल फिल्ममा निर्देशक जोशी र कवि देव व्रतको शब्द सुन्न सकिन्छ।