निर्माता रोज राणा आफ्नो डेढ दशकअघिको सुपरहिट फिल्म 'खलनायक' को दोस्रो शृंखला निर्माणको तयारीमा जुटेका छन्।
माघदेखि छायांकन सुरू गर्ने तयारीमा रहेका उनले शुक्रबारमात्रै विकास बोर्डमा फिल्म दर्ता गरेका छन्।
फिल्मको कथा मौनता श्रेष्ठले लेखिरहेका छन्। हालै प्रदर्शनमा आएको 'ह्रस्व दीर्घ' का निर्देशक चन्द्र पन्त 'खलनायक २' को निर्देशकका रूपमा अनुबन्धित भएका छन्।
'पहिलेको झैं एक्सन र लभस्टोरी जनरामै फिल्म बन्नेछ,' निर्माता रोज राणाले भने, 'कथाको खाका तयार भएपछि कलाकारहरू छनोट गर्नेछौं।'
'खलनायक' मा अभिनेता राजेश हमाल, निखिल उप्रेती र विराज भट्टले शीर्ष भूमिकामा काम गरेका थिए। दोस्रो शृंखलामा पनि पुराना कलाकारहरू दोहोरिने सम्भावना रहेको निर्माता राणाले बताए।
'पुरानासँग सहकार्य गर्ने सम्भावना छ। नयाँ र पुरानालाई लिएर यो फिल्म बनाउने योजना हो,' उनले भने।
फिल्मका लागि गीतको जिम्मा गीतकार दयाराम पाण्डेले पाएका छन्। 'खलनायक' मा उनले लेखेको गीत 'मागेर पाउने भए म' अहिले पनि लोकप्रिय मानिन्छ।