गत वर्षदेखि सुरू भएको 'चित्तौन कचेहेरी- विचारहरूको उत्सव' को दोस्रो संस्करण यही मंसिर २८ र २९ गते आयोजना हुने भएको छ।
नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने उत्सवमा नेपाल, भारत र पाकिस्तानका गरी ५० हाराहारी वक्ताहरू उपस्थित हुनेछन्। उत्सवमा पाकिस्तानी लेखक, वैज्ञानिक, अभियन्ता तथा बौद्धिक अगुवा परवेज हुडबोयले विद्वत प्रवचन दिनेछन्।
२०८० सालमा भएको उत्सवको पहिलो संस्करणमा चितवनको बस्ती विकास तथा देशैभरको विकासमा किनारा लगाइएका आदिवासीहरुका मुद्दा प्रमुख रूपमा उठाइएको थियो भने यस पटक दक्षिण एसियाको राजनीतिमा देखा परेको साम्प्रदायिक उभार, घृणा, ध्रुवीकरण र हिंसामाथि मुल रूपमा चर्चा हुनेछ।
यो विषयले हुडबोयको विद्वत प्रवचनमा ठाउँ पाउनेछ। त्यसै गरी पाकिस्तानलाई पाँच दशकदेखि नियालिरहेका हुडबोय तथा भारतमा दशकौंदेखि निरन्तर घृणाको राजनीतिविरूद्ध कलम र अभियान चलाउँदै आइरहेका लेखक हर्ष मन्दरसहितको प्यानलमा यसै विषयकेन्द्रित छलफल हुनेछ।
त्यसै गरी विज्ञान शिक्षाले कसरी विद्यार्थीलाई असल नागरिक बनाउन सक्छ र बनाउनुपर्छ भन्नेबारेमा हुडबोयका लेक्चरहरू पनि काठमाडौं र चितवनका आधा दर्जन स्कुल र कलेजहरूमा आयोजना हुँदैछन्। यसअघि भरतपुरको सप्तगण्डकी क्याम्पसमा जलवायु र पर्यावरणका मुद्दा समेटेर कचेहेरीको तयारीस्वरूपको एउटा कार्यक्रम भइसकेको छ।
चितवनमा दुई दिन उत्सवका मुल कार्यक्रम भए पनि काठमाडौंमा विभिन्न प्राज्ञिक कार्यक्रमसहित यही मंसिर २५ देखि सुरू भएर एक सातासम्म यो उत्सवको दोस्रो संस्करणका विभिन्न कार्यक्रमहरु चल्नेछन्। दुई दिने उत्सवका सबै सेसनहरू सेतोपाटीको लाइभस्ट्रिमसहित संसारभर एक साथ हेर्न सकिनेछ भने अन्य दिनमा हुने विद्यार्थीकेन्द्रित कार्यक्रमहरू समेत लाइभ वा रेकर्डका रूपमा उपलब्ध हुनेछन्।
यसपटक कार्यक्रमको आयोजना चितवनमा सक्रिय युवाहरूको संस्था बेटर चितवनले गर्दैछ भने डबली द स्पेस, मन्थन चितवन, नारायणी कला मन्दिर, चितवन उद्योग संघ युवा उद्यमी मंच र न्यु लाइफ मिसनले सह-आयोजना गर्दैछन्। बेटर चितवनका संस्थापक सागर कार्की यो उत्सवको संयोजक छन् भने लेखक सरिता तिवारी उत्सव निर्देशक र जीवन क्षेत्री सह-निर्देशक छन्।