आगामी फागुनमा 'दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव' हुने भएको छ।
नेपाली चलचित्र क्षेत्रको प्रवर्द्धन र कर्णाली प्रदेशको पर्यटन विकासलाई टेवा पुर्याउने उद्देश्यले हुन लागेको महोत्सव फागुन २४ गतेदेखि सुरू हुनेछ।
अभिनेता प्रदिप खड्का र अभिनेत्री सुरक्षा पन्तलाई महोत्सवका सद्भावना दूतका रूपमा नियुक्त गरिएको छ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महोत्सव निर्देशक चक्रबहादुर चन्दले महोत्सवले कर्णालीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने विश्वास रहेको बताए।
यसपटक महोत्सवले जलवायु परिवर्तनका मुद्दाहरूलाई समेत प्राथमिकतामा राख्दै 'रारा चलचित्र पर्यटन तथा जलवायु परिवर्तन समिट' आयोजना गर्ने घोषणा गरेको छ। महोत्सवका कार्यक्रमहरूमा चलचित्र प्रदर्शन, कार्यशाला, अन्तरक्रिया र अवार्ड समारोह जस्ता विविध गतिविधि समेटिएका छन्।
सद्भावना दूत नियुक्त अभिनेता खड्काले महोत्सवले चलचित्रलाई पर्यटन प्रवर्द्धनको शक्तिशाली माध्यमका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे। आफ्नो चलचित्र 'प्रेम गीत २' को छायांकन रारा ताल क्षेत्रमा भएको स्मरण गर्दै उनले कर्णालीको पर्यटनमा चलचित्रले पुर्याएको प्रभावको चर्चा गरे।
अभिनेत्री पन्तले कर्णालीसँगको आफ्नै सम्बन्धलाई चलचित्र ‘बुलाकी’ मार्फत अनुभव गरेको बताइन्। उनले महोत्सवले कर्णालीको कथालाई अझ उजागर गर्न सहयोग गर्ने विश्वास व्यक्त गरिन्।
दोस्रो संस्करणको महोत्सव कर्णाली प्रदेशको राजधानी सुर्खेतमा फागुन २४ गते औपचारिक रूपमा उद्घाटन हुनेछ। चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा 'कर्णाली अन्तर्राष्ट्रिय चलचित्र पर्यटन तथा जलवायु अवार्ड समारोह' हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्रांगणमा 'रारा चलचित्र पर्यटन तथा जलवायु समिट' आयोजना हुने जनाइएको छ।
चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघलगायत विभिन्न सरकारी र गैरसरकारी निकायहरूको महोत्सवमा सहकार्य रहनेछ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महोत्सवलाई चलचित्र पर्यटन प्रवर्द्धनको महत्वपूर्ण माध्यमका रूपमा वर्णन गर्दै यसले नेपालको पर्यटन विकासमा उल्लेखनीय योगदान गर्ने अपेक्षा राखे।
नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर रोहिणी प्रसाद खनालले राज्यले पर्यटन प्रवर्द्धनका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरिरहेको बताए।
नेपाल उद्योग वाणिज्य महासङ्घकी पूर्व अध्यक्ष भवानी राणाले निजी क्षेत्रले चलचित्र र पर्यटनलाई सधैँ सघाउँदै आएको उल्लेख गरिन्। अभिनेता शिव श्रेष्ठले हामीले टाढा सम्झेको कर्णालीलाई यो महोत्सवले नजिक बनाएको बताए।
महोत्सवले जलवायु परिवर्तन जस्तो ग्लोबल समस्यालाई कर्णालीको सन्दर्भमा उठान गरेको छ। महोत्सवले जलवायु संरक्षणका लागि चलचित्र क्षेत्रमार्फत जनचेतना फैलाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
महोत्सव रेड चेरी मिडियाले आयोजना गरेको हो।