भारतीय कलाकार अल्लू अर्जुनलाई १४ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश भएको छ।
तेलंगनाको एक स्थानीय अदालतले शुक्रबार उनलाई १४ दिनका लागि हिरासतमा पठाउन आदेश दिएको टाइम्स अफ इन्डियाले जनाएको छ।
पुष्पा-२ का चर्चित अभिनेता समेत रहेका अर्जुनलाई शुक्रबार बिहान उनको घरबाट प्रहरीले पक्राउ गरेको थियो।
अहिले भारतसहित विभिन्न देशमा पुष्पा-२को प्रदर्शन भइरहेको छ। त्यसैबीच डिसेम्बर ४ तारिखमा सन्ध्या थिएटरमा प्रोमोशनका लागि जाँदा भागदौड मच्चिँदा २५ वर्षीया रेवतीको मृत्यु भएको थियो। त्यही सिलसिलामा अनुसन्धानका लागि अर्जुनलाई प्रहरीले पक्राउ गरेको हो। मृतक रेवतीका छोराको अझै उपचार भइरहेको छ।
प्रोमोशन कार्यक्रम व्यवस्थित गर्न नसक्दा, भीड व्यवस्थापन गर्न नसक्दा उक्त घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यसदिन प्रहरीले लाठी चार्ज समेत गरेको समाचारमा उल्लेख छ।
‘थिएटर व्यवस्थापकले अर्जुन आउँछन् भन्ने थाहा हुँदाहुँदै भीड व्यवस्थापन गर्न कुनै सुरक्षा योजना बनाएको देखिएन। त्यहाँ छुट्टै प्रवेशद्वार वा बाहिरिने द्वार बनाइएको थिएन,’ प्रहरीले भनेको थियो।
यसअघि तीन जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्म 'पुष्पा २' मा अल्लू अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।
एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ।