सिनेमा हलमा झण्डै एक महिनापछि नयाँ नेपाली फिल्म प्रदर्शनमा आउँदैछ।
शुक्रबारदेखि प्रदर्शन हुने सौगात मल्ल अभिनीत 'बम बहादुर' को केही मल्टिप्लेक्स हलहरूले अग्रिम बुकिङ खुलाएका छन्।
यो फिल्मलाई क्युएफएक्स लगायतका मल्टिप्लेक्सले न्यून शो दिएका छन्।
क्युएफएक्सले काठमाडौंभित्र फिल्मलाई जम्मा ४ शो मात्र दिएको छ। वान सिनेमाजले पनि ४ शो दिएको छ। आईएनआई, बिग मुभिज लगायतले भने बुधबार बिहानसम्म बुकिङ खुलाएका छैनन्।
'बम बहादुर' जोन राईले लेखन तथा निर्देशन गरेका हुन्।
सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा उतारेको छ। यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूलाई मार्मिक ढंगले चित्रण गरेको निर्माण टिमले जनाएको छ।
फिल्ममा सौगातसहित प्रशान्त राई, अनिशा रसाइली, शान्तिला तामाङ लगायतको अभिनय छ।